बालेन चढेको ल्यान्ड रोभरमा ७६ लाख राजस्व छली, मालपानी गरेका थिए भन्सारमा सेटिङ!

काठमाडौँ । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनाव प्रचार प्रसारणका क्रममा प्रयोग गरेको ल्यान्ड रोभर डिफेन्डर गाडी खरिद प्रक्रियामा राजस्व छली भएको खुलासा भएको छ । झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका बालेनले पूर्वी नेपालमा चुनावि प्रचार प्रसारणमा प्रयोग गरेको गाडी आयातमा ७६ लाख ५० हजार बराबरको राजस्व छलि भएको देखिएको हो ।
उक्त गाडी बालेनलाई सहयोगको रूपमा करेन्ट चाउचाउ उद्योगका मालिक कमलकिशोर मालपानीका छोरा रितेश मालपानीले उपलब्ध गराएका थिए । राज्य सत्ताको दुरुपयोग गर्दै सेटिङमा उक्त गाडी नेपाल आयात गरेको पाइएको छ । विवादित ब्यवसायी नामले परिचित ब्यक्तिको गाडी बालेनले चढेर हिडेपछि स्वार्थ जोडिदै भन्दै आलोचना समेत भएको थियो ।
यातायात व्यवस्था विभागको अभिलेखअनुसार सो ल्यान्ड रोभर डिफेन्डर त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ । उक्त कम्पनीका सञ्चालक मालपानीकै छोरा नितेश मालपानी हुन् । वागमती प्रदेश–०१–०३३च४३४३ नम्बरको उक्त गाडी काइरोस इन्टरनेसनल नामक कम्पनीमार्फत नेपाल भित्र्याइएको हो । काठमाडौँको ज्ञानेश्वरमा कार्यालय रहेको काइरोस इन्टरनेसनल मालपानी परिवारसँग नजिकको सम्बन्ध रहेको कम्पनी भएको बताइन्छ । सो कम्पनीले सन् २०२४ यता ल्यान्ड रोभर कम्पनीका विभिन्न मोडलका १५ वटा सवारी साधन नेपाल आयात गरेको पाइएको छ ।
भन्सार जाँचपासका कागजात, प्राविधिक स्पेसिफिकेसन र वास्तविक सवारी विवरण आपसमा तुलना गर्दा ती १५ मध्ये ६ वटा सवारी साधनमा भन्सार छली भएको देखिएको भन्सार विभागका अधिकारीहरूले जनाएका छन् । आयातका क्रममा इन्जिन क्षमता, इन्धन प्रकार र प्रविधि गलत विवरण दिई कम भन्सार दर लागू गरिएको पाइएको हो ।
गाडी भित्र्याउदा भएको राजस्व छलिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यान तानेको छ । अहिले सो १५ गाडी आयात गर्दा भएको राजस्व छलिमा अख्तियारले समेत सुक्ष्म अध्ययन गरी रहेको जनाइएको छ ।
अख्तियारको प्रारम्भिक छानबिनमा ल्यान्ड रोभर डिफेन्डर ११० मोडलका दुई वटा सवारी साधनमा गम्भीर अनियमितता देखिएको छ । ती दुवै गाडी २९९६ सीसी क्षमताका डिजेल इन्जिनयुक्त भए पनि भन्सार जाँचपासका क्रममा पेट्रोल इन्जिन प्लग–इन हाइब्रिड भनेर उल्लेख गरिएको पाइएको छ । डिजेल इन्जिन भएका सवारी साधनमा ३५८.६७ प्रतिशत भन्सार लाग्ने व्यवस्था हुँदाहुँदै गलत विवरणका आधारमा २५७.९८ प्रतिशत मात्र भन्सार लगाई जाँचपास गरिएको थियो । यसरी दुई वटा गाडीबाट मात्रै १ करोड ५० लाख रुपैयाँ राजस्व छली भएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।
मालपानी परिवार यसअघि पनि विभिन्न कर छली, मूल्य अभिवृद्धि कर र भन्सार सम्बन्धी विवादमा पटक–पटक जोडिँदै आएको छ । व्यवसायिक पहुँच र प्रभावका आधारमा नियम मिचेर आयात गरिएको आरोप नयाँ होइन । तर, यस पटक सो विवाद प्रत्यक्ष रूपमा चर्चित राजनीतिक व्यक्तित्वसँग गाँसिएपछि विषयले थप राजनीतिक र सार्वजनिक चासो पाएको छ ।
विशेषगरी भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका र ‘सिस्टमविरुद्धको’ राजनीतिक छविका कारण चर्चामा रहेका बालेनसँग जोडिएर यस्तो प्रकरण सार्वजनिक भएपछि प्रश्नहरू उठिरहेका छन् । सहयोगका नाममा उपलब्ध गराइएको गाडी कसरी आयात भयो, कर छली भएको जानकारी थियो वा थिएन र सार्वजनिक पद धारण गरिसकेका व्यक्तिले यस्तो गाडी प्रयोग गर्नु कत्तिको नैतिक हो भन्ने बहस चर्किएको छ ।
यो प्रकरणले महँगो सवारी आयातमा हुने भन्सार अनियमितता, शक्तिशाली व्यवसायी र राजनीतिक व्यक्तित्वबीचको सम्बन्ध तथा राज्यले गुमाउने राजस्वको गम्भीर प्रश्नलाई फेरि एकपटक सतहमा ल्याएको छ ।












