रौतहटमा रास्वपा उम्मेदवारको कारले ४ वर्षीया बालिकालाई ठक्कर दिएर मृत्यु हुँदा तनाब

काठमाडौँ । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलमा बिहीबार दिउँसो साढे २ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको प्रचार कार्यक्रममा प्रयोग हुने कारले ४ वर्षीया अल्फा खातुनलाई ठक्कर दिँदा उनको मृत्यु भएपछि तनाब सिर्जना भएको छ ।
दुर्घटना भएको गाडीमा रास्वपा उम्मेदवार शेख सगिर रहेको दाबी सामाजिक सञ्जालमा सार्वजनिक भिडियो फुटेजमा देखिएको छ। गाडीको अगाडि भागमा उम्मेदवारको तस्बिर राखिएको स्टिकर र पार्टी झण्डासहित लठ्ठी पनि देखिएको थियो।
सिसिटिभी फुटेज अनुसार बालिका बाटो काट्ने प्रयास गरिरहेकी थिइन्। सानो सडक भए पनि गाडीले ठक्कर दिँदा बालिका ढलिन् र गाडीको पछाडिको पांग्राले पनि उनलाई किचेको दृश्य फुटेजमा देखिन्छ।
दुर्घटनापछि चालक र उनका आफन्तले बालिकालाई तुरुन्तै गौर सिटी अस्पताल पुराएका थिए । तर बालिकाको ज्यान जाँदा चालक सम्पर्कविहीन भएका थिए। प्रहरीले परोहा नगरपालिका घर भएका २७ वर्षीय शेख मुस्ताखलाई बिहीबार नै नियन्त्रणमा लिएको छ।
उम्मेदवार शेख सगिरले भने आफु सो गाडीमा नरहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, म उक्त समयमा स्थानीय जनतासँग भेटघाट तथा घरदैलो कार्यक्रममा व्यस्त थिएँ। मेरो गाडी चालक एक्लै गाडी लिएर गइरहेको अवस्थामा दुर्भाग्यपूर्ण घटना घटेको हो। यस दुःखद घटनाबाट पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।
यता, रास्वपाले समेत विज्ञप्ति जारी गर्दै कारबाहीको दायरामा ल्याउने बताएको छ ।












