एनएमबि लघुवित्तको नाफासँगै अधिकांश सूचकमा उत्साहजनक वृद्धि

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्मको) वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीको आम्दानीसँगै नाफामा उत्साहजनक वृद्धि देखिएको हो।
कम्पनीले चालू आवको पुस मसान्तसम्म ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आवको पुस मसान्तसम्म कमाएको १ करोड १८ लाख रुपैयाँको तुलनामा १९५.३१ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको आम्दानीमा उल्लेख्य मात्रामा वृद्धि भएकाले पनि नाफा बढ्न मद्दत पुगेको हो।
कम्पनीले ६ महीनाको अवधिमा २८ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आवको सोही अवधिमा गरेको १७ करोड ५२ लाख रुपैयाँको तुलनामा ६१.५४ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि ६०.२३ प्रतिशतले वृद्धि भएर ३१ करोड ६२ लाख रुपैयाँ नाघेको छ जुन गत वर्ष १९ करोड ७३ लाख रुपैयाँ थियो।
आम्दानीमा आएको वृद्धिका कारण पुस मसान्तसम्म कम्पनीको सञ्चालन नाफा पनि ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ जुन गत आवको सोही अवधिको १ करोड ६८ लाख रुपैयाँको तुलनामा १९५.७४ प्रतिशतको भारी वृद्धि हो। यस अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा २ करोड ६८ लाख रुपैयाँभन्दा माथि रहेको छ।
गत पुस मसान्तसम्म ३.२८ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस पुस मसान्तसम्म बढेर ९.६७ रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा निष्क्रिय कर्जा ५.९६ प्रतिशतबाट घटेर ४.८३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४०.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७५.५९ गुणा छ भने तरलता अनुपात ११.९२ प्रतिशत रहेको छ।
चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ७ करोड २९ लाख रुपैयाँ, जगेडामा ३० लाख रुपैयाँ र रिजर्भमा २१ करोड ७० लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको कुल सम्पत्तिको मूल्य ८ अर्ब ५४ करोड रुपैयाँ नाघेको छ।












