नेरुडे मिर्मिरे लघुवित्त नाफामा, निष्क्रिय कर्जा २५.७५ प्रतिशत

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार पुस मसान्तसम्म कम्पनीले ७ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
गत आवको पुस मसान्तसम्म भने कम्पनीले ६ करोड २७ लाख रुपैयाँ खुद घाटा बेहोरेको थियो। बजारको अस्वस्थ प्रतिस्पर्धा, लघुवित्त विरुद्धको गगिविधि, व्यवसायिक गतिविधिमा संकुचन, जनशक्ति बहिर्गमन तथा मर्जर पश्चातको कर्मचारी व्यवस्थापनमा देखिएका आन्तरिक समस्याका कारण खराब वित्तीय प्रदर्शन गरिरहेको कम्पनीले अहिले भने रणनीति विस्तार गर्दै नाफा कमाउन सफल भएको हो।
गत आवको पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ६३ करोड ३८ लाख रुपैयाँ रहेकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा ७.४५ प्रतिशतले बढेर ६८ करोड १० लाख रुपैयाँ नाघेको छ। कम्पनीको कुल सञ्चालन आम्दानी पनि ७० करोड ४२ लाख रुपैयाँबाट ९.८७ प्रतिशतले बढेर ७७ करोड ३७ लाख रुपैयाँ नाघेको छ।
आम्दानीमा वृद्धि आएपछि गत आवको पुस मसान्तसम्म ६ करोड ८७ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको यस कम्पनीले चालू आवको पुस मसान्तसम्म आइपुग्दा १० करोड ८५ लाख रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ। यस अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा १५ करोड ७७ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८.९७ रुपैयाँ ऋणात्मकबाट ११.१८ रुपैयाँ धनात्मक भएको छ भने निष्क्रिय कर्जा ८.४७ प्रतिशतबाट ह्वात्तै बढेर २५.७५ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१२.७६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५६.३० गुणा र तरलता अनुपात ११.१० प्रतिशत रहेको छ।
चुक्ता पूँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडामा १५ करोड ७७ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ रहेको छ। कम्पनीले ६ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य २१ अर्ब ४१ करोड रुपैयाँभन्दा माथि पुगेको छ।












