अभियान लघुवित्तको आम्दानी र नाफामा उछाल, कस्तो छ समग्र वित्तीय अवस्था?

२५ माघ २०८२, आईतवार १२:१०

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज प्रकाशित गरेको छ। जस अनुसार कम्पनीको आम्दानी र नाफा लगायतका सूचकहरूमा उल्लेख्य वृद्धि भएको देखिएको छ।

गत आवको पुस मसान्तसम्म ३७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म १९४३ प्रतिशतको भारी वृद्धि सहित ७ करोड ७३ लाख रुपैयाँ कमाएको छ। कम्पनीको आम्दानीमा उछाल आएको कारण नाफा बढ्न ठूलो मद्दत पुगेको वित्तीय विवरणले देखाएको छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ३१ लाख रुपैयाँबाट १४८.३८ प्रतिशतको वृद्धि सहित १५ करोड ६८ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी पनि ८ करोड ४४ लाख रुपैयाँबाट १०७.४८ प्रतिशतको वृद्धि सहित १७ करोड ५१ लाख रुपैयाँ नाघेको छ।

यसरी कम्पनीले मनग्य आम्दानी गरेपछि सञ्चालन नाफा पनि ४६ लाख रुपैयाँबाट २२७५ प्रतिशतको भारी उछाल सहित ११ करोड ५ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म आइपुग्दा कम्पनीको सम्पत्तिको कुल मूल्य ३ अर्ब ६३ करोड २४ लाख रुपैयाँभन्दा माथि पुगेको छ।

२५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडामा ९० लाख रुपैयाँ र रिजर्भमा ११ करोड ४४ लाख रुपैयाँ सञ्चित रहेको छ। व्यवसाय विस्तारको क्रममा गत असार मसान्तको तुलनामा कम्पनीको निक्षेप संकलन २९ करोड ५८ लाख रुपैयाँबाट वृद्धि भई ३५ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ अर्ब ७५ करोड ९६ लाख रुपैयाँबाट वृद्धि भई ३ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुगेको छ।

गत आवको पुस मसान्तसम्म ३.०३ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी चालू आवको पुस मसान्तसम्म बढेर ६१.८९ रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.१४ प्रतिशतबाट सामान्य बढेर ४.१५ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेथवर्थ १४९.३९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.०९ गुणा र तरलता अनुपात ७.१५ प्रतिशत रहेको छ।

कम्पनीले विगतमा एउटै ग्राहक विभिन्न लघुवित्तमा आवद्ध भएको कारण ग्राहकसँगको कारोबारमा दोहोरोपनाको कारण सदस्यमा अधिक ऋणभारको समस्या पूर्ण नियन्त्रणमा नभएको, लघुवित्तप्रति फैलिएको नकारात्मक भ्रम, राजनीतिक अस्थिरता आदिका कारण कर्जाको गुणस्तर कायम राख्न र दक्ष कर्मचारीलाई टिकाउन चुनौती रहेको बताएको छ।

चुनौतीका बाबजूद व्यवस्थापनले सजगतापूर्वक कर्जा प्रवाह गर्ने, केन्द्र व्यवस्थापनलाई उच्च महत्त्व दिई कर्जाको गुणस्तर कायम राख्ने र प्रभावकारी रूपमा वित्तीय साक्षरता कार्यक्रम गर्ने रणनीति लिएको छ। कर्मचारी लक्षित तालीम सञ्चालन गरी क्षमता अभिवृद्धि गर्ने र प्रभावकारी ढंगले जनशक्ति व्यवस्थापन गर्ने लक्ष्यका साथ अघि बढ्ने योजना कम्पनीले बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*