हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तार, इलेक्ट्रोनिक्स र प्लास्टिक उद्योग सुरु

काठमाडौँ । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम तीव्र बनेको छ । यही क्रममा औद्योगिक क्षेत्रमा हालै दुईवटा नयाँ उद्योग सञ्चालनमा आएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार माघको पहिलो सातादेखि प्रिसिअस ओइष्ट रिफायनरी प्रालिले पुराना इलेक्ट्रोनिक्स सामग्री प्रशोधन गरी नयाँ धातु उत्पादन गर्ने उद्योगबाट परीक्षण उत्पादन सुरु गरेको छ । उनले यस्तो प्रकृतिको उद्योग नेपालमै सम्भवतः पहिलोपटक सञ्चालनमा आएको बताए ।
त्यसैगरी, राधाकृष्ण सेनथेटिक प्रालिले गत कात्तिक महिनादेखि पूर्ण रूपमा प्लाष्टिकको बोरा उत्पादन सुरु गरिसकेको छ ।
सूचना अधिकारी नेपालका अनुसार लामो समयदेखि बन्द रहेका उद्योगमध्ये नेपाल ब्रोरी नयाँ व्यवस्थापनसहित केही दिनभित्रै सञ्चालनमा आउने तयारीमा छ । यस्तै, त्रिपुरा इन्डस्ट्रिजले नयाँ उद्योगका रूपमा टोबाको उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
तर, औद्योगिक क्षेत्रभित्र सञ्चालित केही उद्योग भने पछिल्लो केही महिनादेखि लगानीको अभाव देखाउँदै बन्द भएका छन् । प्लाष्टिकमा प्रिन्ट गर्ने रोटो प्रिन्टिङ उद्योग र नोबोल प्याकेजिङले उत्पादन बन्द गरेको नेपालले जानकारी दिए ।
हाल औद्योगिक क्षेत्रभित्र विभिन्न प्रकृतिका १३ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन उद्योगमध्ये अधिकांश अन्तिम चरणमा पुगेको व्यवस्थापन कार्यालयले जनाएको छ ।
अमेरिकी सरकारको आर्थिक सहयोगमा वि.सं. २०२० मङ्सिर २० गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रभित्र हाल १४७ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।
कुल ३ हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रभित्र खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा उद्योग र कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् ।
यसैगरी, औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय तथा नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायत कार्यालय तथा संस्थाहरू पनि सञ्चालनमा रहेका छन् ।
कुल जग्गा क्षेत्रफलमध्ये हाल २ हजार १७८ रोपनी जग्गा भाडामा दिइएको छ भने २६.५२ रोपनी खाली रहेको छ । यस्तै, सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत युटिलिटी सेवा संरचनाले ५९७ रोपनी क्षेत्रफल ओगटेको छ ।
औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्माण गरिएका १० वटा औद्योगिक भवन, ११ वटा गोदाम र ३४ वटा अन्य भवन रहेका छन् ।












