१७५ एक्युआईमा काठमाडौंको वायु, विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार वायु प्रदूषण अस्वस्थ स्तरमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मध्याह्नसम्म उपत्यकाको वायु गुणस्तर १७५ अंकमा पुगेको हो ।
यससँगै काठमाडौं विश्वका अत्यधिक प्रदूषित सहरहरूको सूचीमा सातौँ स्थानमा परेको छ । सोही समयमा इजिप्टको राजधानी कायरो विश्वकै सबैभन्दा प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ, जहाँ वायु प्रदूषणको स्तर २७३ एक्युआई मापन गरिएको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले मौसम सुक्खा रहनु, हावाको आवागमन न्यून हुनु, उद्योग–कलकारखानाको नियमित सञ्चालन तथा तीव्र विकास निर्माणका गतिविधिका कारण वायु प्रदूषण बढेको बताए । उनका अनुसार औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण तथा छिमेकी मुलुक भारतबाट भित्रिने प्रदूषित हावाले पनि काठमाडौंको वायु गुणस्तर बिगारेको छ ।
“पानी नपरेसम्म प्रदूषण अझै बढ्न सक्ने सम्भावना छ,” सुवेदीले भने । उनले सरोकारवाला निकायलाई वातावरणमैत्री विकासमा जोड दिन आग्रह गरिएको जानकारी पनि दिए ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार एक्युआई ० देखि ५० सम्मको अवस्था राम्रो मानिन्छ भने ५१ देखि १०० सम्म सचेत रहनुपर्ने अवस्था हो । १०१ देखि १५० एक्युआई अस्वस्थ मानिने र यसले विशेषगरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्ने उनको भनाइ छ । १५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० धेरै अस्वस्थ र ३०० भन्दा माथिको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।
काठमाडौं उपत्यकाका लागि तयार गरिएको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई सरकारले विपद् मान्ने व्यवस्था गरेको छ । सो अवस्थामा फोहोर बाल्न रोक लगाउने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुम मेसिनको प्रयोग बढाउने, साथै बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने प्रावधान कार्ययोजनामा समेटिएको छ ।
त्यस्तै, राष्ट्रिय वातावरण नीति, २०७६ ले वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण नियन्त्रणसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति तय गरेको छ ।












