पुँजी बजारमा बिक्रेता हाबिः साढे ११ अर्बको कारोबार, किन बजारमा उतार चढाब ?

काठमाडौँ । साताको अन्तिम कारोबारमा बढेको पुँजी बजार आइतबार ओरालो लागेको छ । सेयर बजार दोहोरो अंकले घट्दा लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको छ । बजारमा नयाँ लगानी भित्रिनुको सट्टा ‘पर्ख र हेर’को अवस्था हावी रहेको छ भने थोरै नाफा हुने वित्तिकै सेयर बुक गर्ने प्रवृत्ति हाबी भएको कारण बजारमा उतार–चढाव बढेको छ ।
सूचक सामान्य रूपमा घट्दा पनि कारोबार रकम उल्लेखनीय रूपमा नबढ्नुले लगानीकर्ताको विश्वास अझै बलियो नभएको संकेत दिएको छ। बजार विश्लेषकहरूले भने, हालको अवस्था बजार स्थायित्वको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन्। बजारमा साना–ठूला लगानीकर्ताबीच डर र सतर्कता बढेको देखिएको छ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। केही संस्थाको वित्तीय अवस्था अपेक्षाकृत कमजोर देखिनुले लगानीकर्तामा सतर्कता बढाएको छ। नाफा, कर्जा विस्तार र सम्पत्ति गुणस्तरसँग सम्बन्धित सूचक कमजोर देखिनुले पुँजी बजारमा डरको वातावरण सिर्जना भएको विश्लेषकहरूले बताएका छन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पुँजी बजारमा केही समय उत्साह देखिएको थियो। तर सुधार देखिएसँगै नाफा बुक गर्ने प्रवृत्ति बढ्दा बजार टिकाउ हुन सकेको छैन। तथापि, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउँदै आएका छन् भने पूँजी बजारप्रति उदार नीति अपनाउने प्रयासहरूले निकट भविष्यमा बजारमा स्थायित्व र सुधारको सम्भावना रहेको विश्लेषकहरूले जनाएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२५ अकंले घटेर २६९८.४४ बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । इन्भेष्टमेन्ट समूह र अन्य समूहको शेयर मूल्यमा मात्रै सामान्य सुधार देखिएको हो ।
आइतबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












