दिगो विकास र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अपरिहार्य : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अनिवार्य रहेको बताएका छन्।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सवको आइतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सबै जाति तथा समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतार्न सके मात्र राजनीतिक स्थायित्व सम्भव हुने उल्लेख गरे।
‘देशको दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अत्यन्त आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने, ‘राज्यले सबै जाति तथा समुदायलाई समेट्दै समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि नै राजनीतिक स्थायित्व कायम हुन सक्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन।’
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्र भएको उल्लेख गर्दै उनले राष्ट्रियगानले व्यक्त गरेझैँ नेपाल सयौँ थुङ्गा फूलहरू मिलेर बनेको सुन्दर फूलबारी भएको बताए। सो फूलबारीलाई अझ सुन्दर, समुन्नत र सन्तुलित बनाउन सबै जाति, भाषा, संस्कृति र समुदायको समान पहुँच, समान अवसर र समान सम्मान अपरिहार्य रहेको उनको भनाइ थियो। उनले संविधानले निर्दिष्ट गरेको लक्ष्य पनि यही भएको स्पष्ट पारे।
राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा, मूल्य–मान्यता, ज्ञान प्रणाली र धार्मिक विश्वास केवल सांस्कृतिक सम्पदा मात्र नभई नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधार भएको बताए। यिनको संरक्षण, संवर्द्धन र समुचित विकासका लागि राज्यले नीतिगत, संस्थागत र संरचनागत रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
‘आदिवासी ज्ञान प्रणाली परम्परामा मात्र सीमित छैनन्,’ उनले भने, ‘यी सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ पनि हुन्।’ नेपालका विभिन्न सूचीकृत आदिवासी जनजातिसँग सम्बन्धित परम्परागत ज्ञान, कृषि प्रणाली, कला, भाषा, विश्वदृष्टि र आध्यात्मिक अभ्याससम्म फैलिएको आदिवासी ज्ञान र बुद्धि एक जीवित राष्ट्रिय भण्डार भएको उनले उल्लेख गरे।
उनका अनुसार यस्तो ज्ञानले नेपाली समाजलाई सहअस्तित्व, सहिष्णुता र समृद्धितर्फ मार्गनिर्देशन गरिरहेको छ। सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक तथा नीतिगत बहसको मूलधारमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गरे।
रजत जयन्तीको यस ऐतिहासिक अवसरले आदिवासी जनजाति समुदायको ज्ञान, संस्कृति र पहिचानलाई राष्ट्रिय विकासको मूल प्रवाहमा अझ सशक्त रूपमा समाहित गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरे।












