‘बीमा कसुर’को मुद्दा अघि बढाउने तयारीमा सरकार, कसरी हुन्छ काम ?

२५ माघ २०८२, आईतवार १६:५१

काठमाडौं । सरकारले ‘बीमा कसुर’को मुद्दा अघि बढाउने प्रकृया अघि बढाएको छ । नीतिगत निर्णयमा अस्थितरताको कारण हालसम्म बीमा क्षेत्रमा हुने अपराधलाई ठगी मुद्दाको रूपमा अघि बढाउने परिपाटी रहेको छ ।

यसमा बीमितहरुले बढी अन्यायमा परेको कारण सरकारले ‘बीमा कसुर’को मुद्दा अघि बढाउने प्रकृया अघि बढाएको हो । यसमार्फत अब बीमा क्षेत्रमा हुने अपराधलाई ‘बीमा कसुर’ मुद्दाकै रूपमा अघि बढाउने गरी सरकारले नीतिगत बाटो खुला गर्न लागेको छ ।

न्यायपरिषद्को सचिवालयले सरकारलाई परामर्शसमेत दिइसकेको छ । बीमा ऐन, २०७९ को दफा १४० मा बीमा कसुरसम्बन्धी व्यवस्था छ ।

नेपाल बीमा प्राधिकरणबाट इजाजत नलिई बीमा व्यवसाय गर्ने, अभिकर्ता तथा मध्यस्थकर्ताको काम गर्न, किर्र्ते गर्ने, नक्कली दाबी पेस गर्ने, मिलेमतोमा गलत दाबी भुक्तानी दिने, गलत नियतले क्षति मूल्यांकन गर्ने, बिमितलाई नोक्सानी पुयाउने, व्यवसाय सञ्चालनमा आर्थिक दुरुपयोग गर्नेलगायतका प्रयोजनलाई कसुरको रूपमा परिभाषा गरिएको छ । यो फौजदारी अर्थात् सरकारवादी मुद्दा हुनेछ । सोही ऐनको दफा १४७ मा यस्तो कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर तोकेको अदालतलाई हुने भनिएको छ । तर, सरकारले हालसम्म यस सम्बन्धमा कुनै अदालतलाई अधिकार दिएको छैन ।

त्यसले गर्दा बीमा क्षेत्रमा हुने अपराधसम्बन्धी मुद्दा ठगीअन्तर्गत अघि बढाउने गरिएको थियो । त्यसले गर्दा अपराधअनुसार कारबाही हुनेमा आशंका थियो । तर, अब यस्तो मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई दिने तयारीमा सरकार छ ।

बीमा कसुर लागु भएसँगै सरकारले सबै जिल्ला अदालतलाई कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार तोक्नेछ ।

त्यसपछि बीमा क्षेत्रमा हुने अपराधको मुद्दा ‘बीमाा कसुर’को रूपमा अघि बढ्नेछ । प्रहरीले पनि सोहीअनुसार अनुसन्धान अघि बढाउनेछ । जसरी बैंकिङ क्षेत्रमा हुने अपराधको मुद्दा ‘बैंकिङ कसुर’अन्तर्गत अघि बढ्छ ।
त्यसैगरी बीमा क्षेत्रमा हुने अपराधको मुद्दा भने ‘बीमा कसुर’ को रूपमा अघि बढ्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*