स्वास्थ्य बीमाको पक्षमा उभिए कांग्रेस सभापति थापा, राष्ट्रिय गौरवको योजना बनाउने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने घोषणा गरेका छन् । आइतबार अर्थात माघ २५ गते विहानै एक भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एकमात्र उपाय बीमा भएकाले कांग्रेसले सरकार बनाउँदा त्यसलाई प्रभावकारी बनाउने बताए ।
नेपालमा राज्यप्रदत्त स्वास्थ्य सुविधाको योजना (हेल्थ स्कीम)लाई स्वाथ्य बीमा भन्ने गरिएको छ । यो वास्तविक बीमा कम्पनीहरुले गर्ने स्वास्थ्य बीमाभन्दा फरक छ र सरकारको स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्छ । उक्त योजनालाई ‘राष्ट्रिय गौरव’को योजनाका रुपमा अघि बढाउने प्रतिबद्धता उनले जनाएका हुन् ।
दुई वर्षदेखि सरकारले स्वास्थ्य बीमाको दायित्व भुक्तानी समयमै गर्न नसक्ने अवस्था आएको छ । यही कारण नेपाल शिक्षण अस्पतालजस्ता विशाल र ‘गरिबहरुको पहूँच’ भएका अस्पतालले स्वस्थ्य बीमा कार्यक्रमबाट उपचार गर्ने प्रणाली नै स्थगित गरिदिएका छन् । स्वास्थ्य मन्त्रालयले मागेजसरी १५ अर्ब थप बजेट दिनसक्ने अवस्था नै नरहेको अर्थ मन्त्रालयले जानकारी गराइसकेको छ । प्रधानमन्त्रीले डाकेको बैठकमा अर्थसचिव घनश्याम उपाध्यायले विनियोजन भएको १० अर्ब बाहेक थप १ अर्ब पनि निकासा भइएसकेको भन्दै अब १५ अर्ब थप्ने कुनै संभावना नरहेको बताएका छन् ।
यसरी व्यावासयिक सन्तुलन हासिल गर्न पनि नसक्ने र सरकारले दायित्व धान्न पनि नसक्ने अवस्था आएपछि स्वास्थ्य बीमा सुविधा तत्कालका लागि धेरै अस्पतालहरुमा बन्द हुने अवस्था आएको छ । अहिले नै अस्पतालहरुलाई तिर्नबाँकी दायित्व १४ अर्ब हाराहारी पुगिसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ
जनताले असाध्यै मिहेनत गरेर परिवार धानेको वा गरिबीको रेखाबाट बाहिर आएको अवस्थामा एक जनालाई रोग लागेपछि उपचार गर्दा नै सबै सम्पत्ती सकिने अवस्था देखेर आफूले यो योजना अघि सारेको उनले बताएका छन् । भलै, स्वास्थ्य बीमालाई डा. रामशरण महतले गगन मन्त्री बन्नुभन्दा धेरै अघि नै केही जिल्लाबाट ‘पाइलटिङ’ अर्थात् नमुना अभ्यास शुरु गरिसकेका थिए । गगन स्वास्थ्य मन्त्री बनेर आएपछि उनले क्रमशः यसलाई देशब्यापी बनाउने निर्णय गराए ।












