वीरगञ्जको अवैध गोदाममा छापा हान्दा सशस्त्र प्रहरीमाथि आक्रमण
२६ माघ २०८२, सोमबार १४:०४

काठमाडौँ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक घरमा अवैध गोदाम सञ्चालन गरेको आरोपमा सशस्त्र प्रहरीले छापा हानेको क्रममा झडप भएको छ। झडपमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा भण्डार गरिएको कपडा बरामद गर्ने क्रममा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो। छापामा नेपाल सशस्त्र प्रहरी बल नं। १३ गण पर्सा, सीमा सुरक्षा बल वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोली सहभागी भएको थियो।
बरामद गरिएको कपडाको बजार मूल्य करिब ७ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा थप सुरक्षा बल परिचालन गरी स्थिति नियन्त्रणमा राखिएको छ।












