सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, कस्तो छ सूचकहरूको अवस्था?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार चालू आवमा कम्पनीको व्यापार र नाफामा गिरावट आएको छ।
गत आवको पुस मसान्तसम्म २२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको पुस मसान्तसम्म भने १७ करोड ८५ लाख रुपैयाँ खुद घाटामा पुगेको हो। खासगरी जेनजी आन्दोलन र असोजमा भएको बाढी पहिरोको कारण ठूलो मात्रामा दाबी परेपछि कम्पनीको नाफामा दबाब परेको हो।
यता कम्पनीको व्यापारमा पनि केही गिरावट आएको छ। आम्दानीको एक मुख्य स्रोत खुद ब्याज आम्दानी समीक्षा अवधिमा ८० करोड ३९ लाख रुपैयाँबाट घटेर ७४ करोड ६६ लाख रुपैयाँमा झरेको तथ्यांकले देखाएको छ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ३० करोड २ लाख रुपैयाँबाट घटेर १ अर्ब १२ करोड ५३ लाख रुपैयाँमा झर्दा कुल खर्च भने ९६ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड ४ लाख रुपैयाँ नाघेको छ। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १६.०३ रुपैयाँ धनात्मकबाट १२.७२ रुपैयाँ ऋणात्मक हुन पुगेको छ।
चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको स्पेशर रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ७८ लाख रुपैयाँ र जगेडा कोषमा ११ करोड ८५ लाख रुपैयाँ रहेको छ। कम्पनीको बीमाकोषको आकार ११ अर्ब ५२ करोड रुपैयाँभन्दा माथि रहेको छ भने सोल्भेन्सी मार्जिन अनुपात ३.८५ प्रतिशत रहको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २४१.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.३५ गुणा ऋणात्मक रहेको छ भने पुस मसान्तसम्म कम्पनीले ७ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ।












