चन्द्रागिरी हिल्स ४ करोड ७० लाख घाटामा, अन्य वित्तीय सूचक समेत दर्दनाक

२७ माघ २०८२, मंगलवार ११:११

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा घाटामा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नतिजा ४ करोड ७० लाख रुपैयाँले ऋणात्मक देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको आम्दानी पनि उल्लेख्य रुपमा खस्किएको छ। गत वर्ष ४२ करोड २५ लाख रुपैयाँ रहेको कुल आम्दानी चालु आवमा ४१.०८ प्रतिशतले घट्दै २४ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। आम्दानी घट्नुको प्रमुख कारण भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा कम्पनीको संरचना तथा केबलकारका उपकरणमा भएको क्षति हो। उक्त घटनापछि त्रैमासिकको बाँकी समय कम्पनीको सम्पूर्ण व्यावसायिक गतिविधि ठप्प भएको थियो। यद्यपि, मंसिर १५ गतेदेखि कम्पनीले पुनः सेवा सञ्चालन थालेको जनाएको छ।

व्यवसाय सञ्चालनको मुख्य सिजनमै अवरोध आएपछि कम्पनीलाई ठूलो आर्थिक क्षति पुगेको व्यवस्थापनको भनाइ छ। यस क्षतिको परिपूर्ति गर्ने विषयमा कम्पनी प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ।

खर्च व्यवस्थापनतर्फ भने कम्पनी केही हदसम्म सफल देखिएको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १२ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.०७ प्रतिशत कम हो। यस्तै, वित्तीय खर्च पनि ८ करोड ७३ लाख रुपैयाँबाट घटेर ६ करोड ७४ लाख रुपैयाँमा झरेको छ।

पूँजी संरचनातर्फ हेर्दा अघिल्लो आवमा ४१ लाख ९५ हजार रुपैयाँले ऋणात्मक रहेको रिजर्भ चालु आवमा ४ करोड ६२ लाख रुपैयाँले धनात्मक बनेको छ। कम्पनीसँग ४९ करोड १४ लाख रुपैयाँ बराबरको चालु सम्पत्ति रहँदा चालु दायित्व १३ करोड ६१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ०७ पैसाले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ०२ पैसा कायम हुँदा पी/ई रेसियो २७७.६८ गुणा ऋणात्मक देखिएको छ। साथै, कम्पनीको तरलता अनुपात ३.६१ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*