बजारमा सर्वोत्तमको दबदबाः वर्षदिनमा बेच्यो ९ अर्ब ५४ करोडको सिमेन्ट, नाफा समेत अर्ब क्लबमा

काठमाडौँ । वर्षदिनको अवधिमा सर्वोत्तम सिमेन्टको नाफा अर्ब क्लबमा पुगेको छ । कम्पनीले सन् २०२५ मा कम्पनीले १ अर्ब २ करोड ८० लाख रुपैयाँ नाफा कमाएको हो । जुन नाफा सन् २०२४ को तुलनामा ५८९.९३ प्रतिशतले बढी हो ।
कम्पनीले सन् २०२४ मा १४ करोड ९० लाख, सन् २०२२ मा ४६ करोड ८० लाख र सन् २०२३ मा २१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको सुरुवातको तीन महिनामै कम्पनीले ३२ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीको व्यापार थप आक्रामक बन्दै गएको छ । कम्पनीले सन् २०२५ मा ९ अर्ब ५४ करोड ३० लाख रुपैयाँको कारोबार गर्ने सफल भएको हो। कम्पनीले गरेको व्यापार सन् २०२४ को तुलनामा ४८.५९ प्रतिशत अर्थात् ३ अर्ब १२ करोड १० लाख रुपैयाँले बढी हो । कम्पनीले सो वर्ष ६ अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ५ अर्ब ३९ करोड र सन् २०२२ मा ७ अर्ब ८८ करोडको व्यापार गरेको हो ।
कम्पनीले पछिल्ला वर्षहरूमा आफ्नो व्यवसायिक संरचना, उत्पादन क्षमता र वित्तीय अवस्थामा उल्लेखनीय सुधार गर्दै आएको देखिएको छ । विसं २०६७ असोजमा निजी सीमित कम्पनीका रूपमा स्थापना भई विसं २०७६ साउनमा सार्वजनिक सीमित कम्पनीमा रूपान्तरण भएको यो कम्पनी क्लिङ्कर र सिमेन्ट उत्पादन तथा बिक्रीमा सक्रिय छ । सुरुमा करिब ४ लाख मेट्रिक टन वार्षिक क्षमताको उद्योगका रूपमा स्थापना भएको सर्वोत्तम सिमेन्टको हाल क्लिङ्कर तथा ग्राइन्डिङ दुवैको क्षमता करिब १० लाख मेट्रिक टन पुगेको छ । नवलपरासी जिल्लाको रामनगर गाविस–५ मा अवस्थित यस उद्योगको मुख्य शेयर स्वामित्व नेपालकै प्रतिष्ठित व्यवसायिक घराना सौरभ समूहसँग रहेको छ ।
कम्पनीले ‘सर्वोत्तम’ ब्रान्ड नामबाट साधारण पोर्टल्यान्ड सिमेन्ट र पोजोलाना पोर्टल्यान्ड सिमेन्ट उत्पादन गर्दै आएको छ । यससँगै कम्पनीको शतप्रतिशत स्वामित्वमा रहेको सहायक कम्पनी सर्वोत्तम होल्डिङ प्रालिले देशका फरक–फरक भौगोलिक क्षेत्रमा सञ्चालनमा रहेका तीन ग्राइन्डिङ उद्योग तथा दुई खानी कम्पनीमा लगानी गरेको छ । यी लगानीहरू मुख्यतया आर्थिक वर्ष २०८१/८२ मा गरिएका हुन्, जसले दीर्घकालीन कच्चा पदार्थ सुरक्षा र बजार विस्तारमा सहयोग पु-याउने अपेक्षा गरिएको छ ।
सञ्चालन नाफा सूचकले पनि कम्पनीको कार्यक्षमता देखाएको छ । सञ्चालन आम्दानीको अनुपातमा सञ्चालन नाफा सन् २०२२ मा १९ प्रतिशत रहेकोमा २०२३ मा १७ प्रतिशत र २०२४ मा १२ प्रतिशतमा झरेको थियो । तर २०२५ मा पुनः सुधार भई १८ प्रतिशत पुगेको छ भने चालु वर्षको प्रारम्भिक अवधिमा यो अनुपात २४ प्रतिशत पुगेको छ ।
ऋण संरचनातर्फ हेर्दा कम्पनीको जोखिम स्तर नियन्त्रणमै देखिन्छ । कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात सन् २०२२ मा ०.६२ गुणा रहेकोमा क्रमशः घट्दै २०२४ मा ०.३५ गुणा पुगेको थियो । २०२५ मा यो ०.३९ गुणा रहेको छ । बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात पनि घट्दो क्रममा छ ।
ऋण तिर्ने क्षमता झल्काउने सूचकहरूमा पनि सुधार देखिएको छ । सञ्चालन नाफासँग तुलना गरिएको कुल ऋण अनुपात सन् सन् २०२२ मा २.२२ गुणा छ । ब्याज तिर्ने क्षमता २०२५ मा ५.८० गुणा र चालु वर्षको तीन महिनामा ७.२५ गुणा पुगेको छ ।
इक्रा नेपालले सर्बोत्तम सिमेन्ट लिमिटेडको इस्युअर रेटिङ पुनः पुष्टि गर्दै ‘नेगेटिभ प्रभावसहितको वाच सूची’बाट हटाएको छ । कम्पनीको इस्युअर रेटिङ ट्रिपल बी स्तरमै कायम गरिएको छ । यससँगै सर्बोत्तम सिमेन्टको दीर्घकालीन बैंक कर्जाको रेटिङ पनि पुनः पुष्टि गरिएको छ भने सो रेटिङलाई पनि वाच सूचीबाट हटाइएको छ । दीर्घकालीन कर्जातर्फ यसअघि १५ करोड १० लाख रुपैयाँको सीमा रहेकामा हाल ९ करोड १७ लाख रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी, कम्पनीको अल्पकालीन बैंक कर्जातर्फको रेटिङ पनि यथावत् राख्दै वाच सूचीबाट हटाइएको छ । अल्पकालीन कर्जाको सीमा यसअघि ४ अर्ब ११ करोड रुपैयाँ रहेकामा हाल ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। यसरी सर्बोत्तम सिमेन्टको कुल कर्जा सीमा ४ अर्ब २६ करोड १० लाख रुपैयाँबाट बढेर ६ अर्ब १६ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
नेपाली सिमेन्ट बजारमा तीव्र प्रतिस्पर्धाबीच पनि उत्कृष्ट उत्पादन र सेवामा जोड दिने कम्पनीहरूले मात्र टिक्ने र सफल हुने गरेका छन्। यसै क्रममै, आफ्ना गुणस्तरीय उत्पादन, समयमै वितरण र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने कम्पनीहरूले नेपाली ग्राहकको विश्वास जित्न सफल भएका छन्। ग्राहकहरूका आवश्यकता र भरोसामा आधारित यस दृष्टिकोणले कम्पनीको ब्राण्डलाई मजबुत बनाएको छ भने उपभोक्ताको रोजाइमा पनि प्रमुख स्थान दिलाएको छ।











