महुली लघुवित्तको नाफामा उछाल, अन्य वित्तीय अवस्था कस्तो?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उछाल आएको हो।
कम्पनीले गत आवको पुस मसान्तसम्म ८९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस मसान्तसम्म ६८१.५६ प्रतिशतको उछाल सहित ७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १६ करोड ४८ लाख रुपैयाँबाट ३७.८८ प्रतिशतले बढेर २२ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १२ करोड ६९ लाख रुपैयाँबाट ७४.४७ प्रतिशतले बढेर २२ करोड १४ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १ करोड २८ लाख रुपैयाँबाट ६८१.५४ प्रतिशतको उछाल सहित १० करोड रुपैयाँ नाघेको छ। कम्पनीको आम्दानीमा वृद्धि भएको र इम्पेयरमेन्ट चार्ज ५३.५७ प्रतिशतले घटेका कारण नाफा बढ्न मद्दत पुगेको हो।
आम्दानी र नाफा बढेपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि ५.५६ रुपैयाँबाट बढेर ३६.१४ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.८९ प्रतिशतबाट बढेर ८.८० प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १९६.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.६९ गुणा र तरलता अनुपात १७.१२ प्रतिशत रहेको छ।
चुक्ता पूँजी ३८ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७ करोड १३ लाख रुपैयाँ र रिजर्भ कोषमा ३० करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले १ अर्ब ९२ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ७० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिसम्म कम्पनीको सम्पत्तिको कुल मूल्य ६ अर्ब २१ करोड ७७ लाख रुपैयाँ रहेको छ।












