करारका इन्जिनियरले ५ वर्षमा कमाए दुई करोड अवैध सम्पत्ति, अख्तियारद्वारा भ्रष्टाचार मुद्धा

२७ माघ २०८२, मंगलवार १६:४७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करारमा कार्यरत इन्जिनियर सुवास लामिछानेविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लामिछानेले पदीय हैसियतको दुरुपयोग गर्दै १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको पाइएको छ।

लामिछाने २०७६ फागुन १ गते सेवामा प्रवेश गरी २०८१ साउन १४ गतेसम्म गोदावरी नगरपालिकामा करारमा कार्यरत रहेका थिए। सो अवधिमा उनको आय र खर्चको विवरण विश्लेषण गर्दा आम्दानीको तुलनामा अत्यधिक खर्च देखिएको र त्यसको स्रोत खुल्न नसकेको अख्तियारको दाबी छ।

आयोगका अनुसार पारिश्रमिक, भत्ता, श्रीमतीको बचत, ऋण–सापटी, शेयर बिक्रीलगायत शीर्षकबाट लामिछानेको कुल वैधानिक आम्दानी १ करोड २७ लाख ७४ हजार ६७३ रुपैयाँ मात्र देखिएको छ। तर सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, शेयर लगानी, छोराको अध्ययन खर्च, बीमा प्रिमियमलगायतमा ३ करोड २४ लाख ८४ हजार ८३० रुपैयाँ खर्च गरेको पाइएको छ।

वैधानिक आम्दानीको तुलनामा खर्च अत्यधिक देखिनुका साथै खर्चको स्रोत पुष्टि हुन नसकेपछि आयोगले अकुत सम्पत्ति आर्जनको कसुरमा मुद्दा दायर गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए।

आयोगले यस प्रकरणमा लामिछानेका बुबा सुदर्शन लामिछानेलाई समेत प्रतिवादी बनाएको छ। अख्तियारले उनीहरूको नाममा रहेको सम्पत्तिसमेत गैरकानुनी रूपमा आर्जन गरिएको आशंकामा छानबिन गरी मुद्दा अघि बढाएको जनाएको छ।

frscVz

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*