चुनावी सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाली सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन

२७ माघ २०८२, मंगलवार १७:०४

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाली सेनालाई स्पष्ट निर्देशन दिएकी छन्।

सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनमा सुरक्षा संयन्त्रबीच आवश्यक समन्वय नहुँदा कमजोरी देखिएको स्वीकार गरिन्।

उनले अघिल्ला अनुभवबाट पाठ सिक्दै यसपटक सुरक्षा निकायहरूबीच स्पष्ट समन्वय, प्रभावकारी सूचना आदान–प्रदान र जिम्मेवारीको स्पष्ट विभाजन अनिवार्य रहेको बताइन्। “विगतमा देखिएका कमजोरी, त्रुटि वा रिक्तता दोहोरिनु हुँदैन,” प्रधानमन्त्री कार्कीले भनिन्, “लोकतान्त्रिक प्रक्रियाको विश्वसनीयता कायम राख्न सुरक्षामा कुनै सम्झौता हुँदैन।”

प्रधानमन्त्रीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको भूमिका निर्णायक हुने उल्लेख गर्दै सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*