अपि पावरको नाफा ४२ करोड ६२ लाख, अन्य सूचक कस्ता ?

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले कम्पनीको आम्दानी, नाफा र समग्र वित्तीय सूचकहरूमा सुधार देखाएको छ।
कम्पनीले पुस मसान्तसम्म ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको नाफाभन्दा झण्डै ३७ प्रतिशतले बढी हो। गत वर्ष पुससम्म कम्पनीको खुद नाफा ३१ करोड १६ लाख रुपैयाँमा सीमित रहेको थियो।
विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानीमा भएको विस्तार कम्पनीको नाफा वृद्धिको प्रमुख आधार बनेको छ। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी करिब १२ प्रतिशतले बढेको छ। उत्पादन र बिक्री दुवै पक्ष सन्तुलित रूपमा अघि बढ्दा कुल नाफामा पनि उल्लेखनीय सुधार आएको छ।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा भने केही घटेको देखिए पनि वित्तीय खर्चमा भएको ठूलो कटौतीले समग्र नाफालाई सकारात्मक दिशामा लैजान सहयोग पुर्याएको छ। विवरणअनुसार कम्पनीको वित्तीय खर्च एक वर्षको अवधिमा ३६ प्रतिशतभन्दा बढीले घटेको छ। ऋणको ब्याज भार कम हुनु र वित्तीय संरचना व्यवस्थापनमा सुधार आउनुले खुद नाफामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ।
नाफासँगै कम्पनीका शेयरधनीका लागि महत्वपूर्ण मानिने प्रतिशेयर आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३ पैसामा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ रुपैयाँ ७७ पैसाले बढी हो।
कम्पनीको प्रतिशेयर नेटवर्थ पनि सुधारिएको देखिन्छ। पुस मसान्तसम्म प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ५८ पैसा कायम भएको छ। त्यस्तै, मूल्य–आम्दानी अनुपात २०.६२ गुणामा झरेको छ।
चालु वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको अन्य इक्विटी १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी पुगेको छ।












