चीनमा विद्युतीय गाडीको ढोकामा लुकेका ‘ह्यान्डल’ मा प्रतिबन्ध

काठमाडौँ । चीनले विद्युतीय सवारीसाधनमा प्रयोग हुँदै आएका ढोकामा लुकेका ‘ह्यान्डल’ मा प्रतिबन्ध लगाएको छ । यस्तो डिजाइन रोक लगाउने चीन विश्वकै पहिलो देश बनेको छ । टेस्लाका प्रमुख एलन मस्कले लोकप्रिय बनाएको यो डिजाइन सुरक्षाको दृष्टिले विवादास्पद मानिँदै आएको छ ।
हालै विद्युतीय सवारीसाधनको सुरक्षाबारे विश्वभर निगरानी बढिरहेको बेला चीनले यो निर्णय गरेको हो । चीनमै साओमी कम्पनीका विद्युतीय गाडीहरू दुर्घटनामा पर्दा दुई जनाको ज्यान गएको थियो । ती दुर्घटनामा विद्युत् आपूर्ति बन्द भएपछि ढोका नखुलेको आशंका गरिएको थियो ।
अब चीनमा बिक्री हुने सवारीसाधनमा ढोका खोल्न भित्र र बाहिर दुवैतर्फ यान्त्रिक प्रणाली अनिवार्य हुनेछ । नयाँ व्यवस्था सन् २०२७ जनवरी १ देखि लागू हुने छ । नियमअनुसार बुटबाहेक प्रत्येक यात्रु ढोकाको बाहिरी भागमा कम्तीमा ६ सेन्टिमिटर लम्बाइ, २ सेन्टिमिटर चौडाइ र २.५ सेन्टिमिटर गहिराइको खाल्डो हुनुपर्नेछ, जसले ह्याण्डलसम्म सजिलै पहुँच सुनिश्चित गर्छ । गाडीको भित्री भागमा ढोका खोल्ने तरिका देखाउने कम्तीमा १ सेन्टिमिटर लम्बाइ र ०.७ सेन्टिमिटर चौडाइको संकेत चिन्ह राख्नुपर्नेछ ।
पहिले नै स्वीकृति पाइसकेका र बजारमा प्रवेशको अन्तिम चरणमा रहेका मोडेलहरूलाई भने डिजाइन परिमार्जन गर्न थप दुई वर्षको समय दिइनेछ ।
चीनको नयाँ ऊर्जा सवारी बजारमा यस्ता लुकेका ह्याण्डल व्यापक रूपमा प्रयोग हुँदै आएका छन् । विद्युतीय, हाइब्रिड र इन्धन कोषमा चल्ने सवारी समेटिने यस बजारमा सबैभन्दा धेरै बिक्री हुने शीर्ष १०० मोडेलमध्ये करिब ६० प्रतिशतमा यस्तो ह्याण्डल प्रयोग गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।












