सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु नै पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाको प्रशंसा गरेकी छन्। बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले आयोगले महत्वपूर्ण काम गर्दै आएको भन्दै पनि भ्रष्टाचार न्यून हुन नसकेकोमा चिन्ता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले निभाउँदै आएको भूमिका महत्वपूर्ण छ। पछिल्लो समय आयोग अझ सक्रिय, निर्भिक र सशक्त ढंगले काम गरिरहेको छ।’
उनले थपिन्, ‘मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य सर्त हो। समाजमा न्याय र सुरक्षाको न्यूनतम मापदण्ड पनि भ्रष्टाचारविहीन अवस्थामा सुनिश्चित हुन्छ।’
प्रधानमन्त्री कार्कीले प्रत्येक राष्ट्रले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउनु पर्ने औँल्याउँदै भनिन्, ‘हाम्रो देशमा संविधानमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकायको व्यवस्था गरिएको छ। यसको कारबाहीका कारण प्रत्येक कर्मचारी र राष्ट्रसेवक पदाधिकारीमा एक प्रकारको डर उत्पन्न भएको छ।’
भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना निर्माणको अन्तिम चरणमा नेपाल पुगेको जानकारी दिँदै उनले भनिन्, ‘हामीसँग सुनुवाइका लागि विशेष अदालतदेखि कानुनी र नीतिगत पर्याप्त संरचना उपलब्ध छन्। तर किन भ्रष्टाचार कम भइरहेको छैन भन्ने कुरा चिन्ताजनक छ।’
जेनजी आन्दोलनको म्यान्डेट स्मरण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको मुख्य जिम्मेवारी सरकार र कार्यकारी अंगकै हुने बताए।












