आयल निगमले टेकु परिसरबाटै ग्यास बिक्री गर्दै निगम , कुन–कुन ग्यास पाइन्छन्?

काठमाडौं । नेपाल आयल निगमले टेकुस्थित आफ्नो परिसरबाट तीन वटा कम्पनीको ग्यास बिक्री बितरण गर्न सुरु गरेको छ ।पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समस्या समाधान गर्न निगमले ग्यास उद्योगीको सहकार्यमा अवस्थामा सुधार नहुँदासम्म टेकु परिसरबाट नेपाल ग्यास, सुगम ग्यास र एभरेष्ट ग्यासको बिक्री गर्न सुरु गरेको हो ।
निगमको एलपी ग्यास एभिएसन विभागका प्रमुख बिनितमणि उपाध्यायका अनुसार पछिल्लो समयमा विभिन्न प्राविधिक कारणले गर्दा प्रमुख तीन कम्पनीको ग्यास सिलिण्डरको बजारमा अभाव सिर्जना भएको थियो । हल्लाको भरमा आम उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर जम्माखोरी गर्न थालेपछि नेपाल, सुगम र एभरेष्ट ब्राण्डको सिलिण्डरको अभाव देखिएको थियो ।
बजारलाई पूर्ववत् रुपमा चलायमान बनाउन टेकु कार्यालयबाट उक्त तीनवटै कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाइएको उपाध्यायले जानकारी दिए । टेकु बिक्री केन्द्रबाट आवश्यकताको आधारमा आम उपभोक्ताले ग्यास सिलिण्डर खरिद गर्न पाउने सुविधा उपलब्ध गराइएको छ ।












