सुस्त पुँजी बजारः निरन्तर गुम्दै लगानीकर्ताको लगानी, किन स्थिर छ मार्केट ?

काठमाडौँ । शेयर बजारमा झिनो अंकले घट्दै ओरालो लाग्ने क्रमलाई जारी राखेको छ । पछिल्लो केही दिनयता बजार लगातार राताम्य यात्रामा रहेको छ, जसले लगानीकर्तामा चासो र चिन्ता दुवै बढाएको छ । विशेषज्ञहरूले यसलाई ‘पर्ख र हेर’को अवस्थासँग जोड्दै थोरै नाफा भए लगानीकर्ताले सेयर बेच्ने प्रवृत्ति बढेको बताएका छन् । साना र ठूला दुवै प्रकारका लगानीकर्ताबीच डर र सतर्कता बढेपछि बजारमा उतार–चढाव देखिन थालेको छ ।
हालको बजारमा लगानीकर्ता निराश देखिएका छन् । बजार बढ्ने आशामा सेयरमा लगानी गर्ने योजना बनाएका धेरैले अपेक्षित नाफा नपाउँदा बेच्ने प्रवृत्ति देखाइरहेका छन् । विशेषज्ञहरूले भने लगानीकर्ताको सतर्कता र डरले बजारमा अस्थिरता बढाउने र छोटो अवधिमा बजारलाई सामान्य स्तरमा ल्याउन चुनौती हुने देखिन्छ ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले दोस्रो त्रैमाससम्मका वित्तीय विवरण सार्वजनिक गरेका छन्। केही संस्थाहरूको नाफा कमजोर देखिनु, कर्जा विस्तारमा सुस्तता र सम्पत्ति गुणस्तर कमजोर देखिनुले लगानीकर्तामा सतर्कता बढाएको छ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही समय पुँजी बजारमा उत्साह देखिएको थियो। तर चुनावपछि नयाँ नेतृत्वको शेयर बजार नीति के हुने भन्ने विषय अझै स्पष्ट छैन। यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने र पूँजी बजारप्रति उदार नीति अपनाउने प्रयास गरेकाले निकट भविष्यमा बजारमा स्थायित्व र सुधारको सम्भावना देखिएको विश्लेषकहरूले बताएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०४ प्रतिशतले घटेर २६६२.०९ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँको कारोबार भएको हो ।
आज ८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन फाइनान्सको ०.२५ प्रतिशत, विकास बैंक समूहको ०.६३ प्रतिशत, जीवन बीमा समूहको ०.२३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
यसदिन ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।













