नेको इन्स्योरेन्स सहित आधा दर्जन बीमा कम्पनीमाथि प्राधिकरणको कारवाही

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले तोकिएको नियम अनुसार कारोबार नगर्ने छ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । कारवाहीमा परेका कम्पनीहरुलाई जरिवना तिराउने निर्णय गरिएको छ ।
नियामकीय निर्देशन पालना नगर्ने, संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम काम नगर्ने बीमा कम्पनीहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।
कारवाहीमा पर्ने कम्पनीहरुमा नेको इन्स्योरेन्स कम्पनी, ओरियन्टल इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स कम्पनी, हिमालयन रिलगायतका रहेका छन् ।
नियामक बीमा प्राधिकरणले केही समयदेखि कारवाही गर्न फाइल तयार गरेको भएपनि अध्यक्ष नहुने तथा सञ्चालक समितिमा बहुमत सदस्य नै नभएकोले रोकिएको थियो । नयाँ अध्यक्षमा नेपाल सरकारका सचिव चन्द्रकला पौडेल नियुक्त भएर आएको तथा सञ्चालकमा सह सचिव सुमन दाहाल नियुक्त भएपछि सञ्चालक समितिमा बहुमत पुगेर निर्णय गर्ने बाटो खुलेको हो ।












