शिखर इन्स्योरेन्सले ६ महीनामा गर्यो ७८ करोडको व्यवसाय, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार सो अवधिमा कम्पनी ७८ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्न सफल भएको हो।
गत आवको आवको पुस मसान्तसम्म कम्पनीले ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म २२.४१ प्रतिशतले व्यवसाय वृद्धि गरी ७८ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो।
यद्यपि भदौमा भएको जेन जी आन्दोलन र असोजमा भएको बाढी पहिरोका कारण ठूलो राशीको बीमा दाबी परेका कारण कम्पनी अझै पनि खुद घाटामा रहेको छ। गत आवको पुस मसान्तसम्म २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस मसान्तसम्म कम्पनी ४ करोड ४७ लाख रुपैयाँ खुद घाटामा रहेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब १६ करोड ३३ लाख रुपैयाँबाट ५.७१ प्रतिशतले बढेर १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ नाघेको छ भने कुल खर्च ७९ करोड ७८ लाख रुपैयाँबाट ६२.१५ प्रतिशतले बढेर १ अर्ब २९ करोड ९३ लाख रुपैयाँ नाघेको छ। त्यस्तै अभिकर्तालाई कमिशन बापत दिएको रकम पनि २ करोड ६८ लाख रुपैयाँबाट १९.८२ प्रतिशतले बढेर ३ करोड २२ लाख रुपैयाँ नाघेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९.३९ रुपैयाँबाट घटेर ३.०६ रुपैयाँ ऋणात्मक हुन पुगेको छ भने सोल्भेन्सी अनुपात ३.६७ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९६.६४ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी २ अर्ब ९३ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५७ लाख रुपैयाँ सञ्चित रहेको छ। पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ।













