युनाइटेड अजोडको व्यवसाय साढे ३२ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति

२९ माघ २०८२, बिहीबार ०८:१८

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आजै प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार व्यवसाय साढे ३२ प्रतिशतले वृद्धि भएको छ भने अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ।

यद्यपि गत आवको पुस मसान्तसम्म ६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएका कम्पनी चालू आवको पुस मसान्तसम्म भने १० करोड ११ लाख रुपैयाँ खुद घाटामा रहेको छ। तथापि कम्पनीको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा ४४ करोड ३८ लाख रुपैयाँबाट ३२.४६ प्रतिशतले बढेर ५८ करोड ७८ लाख रुपयाँ नाघेको छ।

समीक्षा अवधिमै कम्पनीको कुल आम्दानी ११.८१ प्रतिशतले वृद्धि हुँदा कुल खर्च ५४.८६ प्रतिशतले बढेको छ भने अभिकर्तालाई दिने कमिशन २५.४९ प्रतिशतले वृद्धि भएको छ। यता लगानी तथा कर्जाबाट हुने ब्याज आम्दानीमा भने ४२.३० प्रतिशतको गिरावट देखिएको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.६४ रुपैयाँबाट बढेर ९.२३ रुपैयाँ कायम भएको छ भने सोल्भेन्सी अनुपात २.१९ प्रतिशतबाट बढेर २.७३ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७१.१० रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब २ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा साढे ४ करोड रुपैयाँ र जगेडा कोषमा ६ करोड रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीले पुस मसान्तसम्म ४ अर्ब ४४ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*