निरन्तर ओरालो लाग्दै वाणिज्य बैंकको ब्याजदर, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् ।
व्यक्तिगत मुद्दति निक्षेपतर्फ हेर्दा फागुन महिनामा बैंकहरूको अधिकतम औसत ब्याजदर घटेको देखिन्छ। माघ महिनामा ४.६८ प्रतिशतविन्दुमा रहेको यस्तो ब्याजदर फागुनमा ०.११ प्रतिशतविन्दुले घट्दै ४.५६ प्रतिशत विन्दुमा झरेको हो।
त्यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि ओरालो लागेको छ। समीक्षा अवधिमा यसतर्फको अधिकतम औसत ब्याजदर ०.०५ प्रतिशतविन्दुले घटेको छ।

फागुन महिनाका लागि सार्वजनिक ब्याजदर विवरणअनुसार ९ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा दिइने अधिकतम ब्याजदर घटाएका छन्। यी बैंकहरूमध्ये सबैभन्दा ठूलो कटौती ग्लोबल आइएमई बैंकले गरेको छ। माघ महिनामा ५.५ प्रतिशतसम्म ब्याज दिने उक्त बैंकले फागुनका लागि दर घटाएर ४.७५ प्रतिशत कायम गरेको छ।
यद्यपि, सबै बैंकले ब्याजदर घटाएका भने छैनन्। ११ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा माघ महिनामा लागू गरिएको ब्याजदरलाई नै फागुनमा पनि निरन्तरता दिएका छन्।













