राजावादी प्रदर्शनमा प्रशासनको हस्तक्षेप, विमानस्थल हातामा निषेधाज्ञा जारी

काठमाडौं । राजावादी समूहहरूले फागुन १ गते गर्न लागेको प्रदर्शनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गरेको छ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका कारण हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको वातावरण विथोलिन सक्ने र निर्वाचन आचारसंहिता समेत लागू भइसकेकाले प्रदर्शन गर्न नदिने प्रशासनले बताएको छ।
निर्वाचन प्रयोजनका लागि सुरक्षा निकायहरू समेत निर्वाचन क्षेत्रमा खटिसकेको अवस्थामा राजधानीमा प्रदर्शन भएमा सुरक्षाकर्मीको समेत पर्याप्तता नहुने प्रशासनले बताएको छ। प्रशासनले एक सूचना जारी गर्दै विमानस्थल हातामा निषेधाज्ञा जारी गरेको छ भने यस विपरीत प्रदर्शनमा सहभागी भएमा कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ।
फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन विमानस्थल हुँदै काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ। यसैक्रममा राजावादी समूहहरूले विमानस्थलदेखि नै ठूलो संख्यामा मानिसहरूलाई भेला हुन र राजाको स्वागत गर्न आह्वान गरिरहेका छन्।













