सुधारिँदो सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल, दयनीय अवस्थामा घोराही, कुनमा लगानी सुरक्षित ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै सुधारको दिशामा अघि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म सार्वजनिक वित्तीय विवरणले लामो समयदेखि दबाबमा रहेका यी कम्पनीहरू क्रमशः लयमा फर्किन खोजेको संकेत देखाएको हो । लागत व्यवस्थापन, उत्पादन स्थायित्व र बजार मागमा आएको आंशिक सुधारले सिमेन्ट क्षेत्रलाई केही राहत मिलेको छ ।
चार सूचीकृत सिमेन्ट कम्पनीमध्ये शिवम सिमेन्ट, सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयलको वित्तीय अवस्था तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ । यी कम्पनीहरूको आम्दानी, सञ्चालन नाफा तथा नगद प्रवाह अघिल्ला अवधिको तुलनामा केही सबल बन्दै गएको छ । यद्यपि घोराही सिमेन्ट उद्योग लिमिटेड भने अझै उच्च ऋणभार, कमजोर माग र लागत दबाबका कारण गम्भीर चुनौतीमै रहेको देखिन्छ । दोस्रो बजारमा यी कम्पनीहरूको शेयर मूल्य हाल करिब ४ सयदेखि ८ सय रुपैयाँको दायरामा कारोबार भइरहेको छ ।
नेपालमा सिमेन्ट उद्योगको दीर्घकालीन सम्भावना भने बलियो मानिन्छ । चुनढुंगा खानीहरूको विकाससँगै कच्चा पदार्थमा आत्मनिर्भरता बढ्दा उद्योगको आधार मजबुत बनेको छ । अघिसम्म उद्योगीहरू क्लिंकर भारतबाट आयात गर्न बाध्य भए पनि खानी तथा भूगर्भ विभागबाट लाइसेन्स जारी भएपछि नेपालमै क्लिंकर उत्पादन सुरु भएको छ । यसले उत्पादन लागत घट्नुका साथै सिमेन्ट उद्योगलाई आत्मनिर्भर बनाएको छ, जसको सकारात्मक प्रभाव वित्तीय विवरणमा देखिन थालेको छ ।
यससँगै नेपाली सिमेन्ट उद्योग निर्याततर्फ पनि उन्मुख बन्दै गएको छ । पछिल्ला वर्षहरूमा भारततर्फ सिमेन्ट निर्यात बढ्दै जानु र त्यहाँ नेपाली सिमेन्टको ब्रान्ड क्रमशः स्थापित हुँदै जानुले उद्योगप्रति आशा थपेको छ । आन्तरिक पूर्वाधार विकास, निजी निर्माण गतिविधि र निर्यात विस्तारले गति लिन सकेमा सिमेन्ट कम्पनीहरूको वित्तीय यात्रा आगामी दिनमा अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
नाफामा सर्वोत्तम अघि, घोराही कम्पनी ऋणात्मक
नेप्सेमा सूचीकृत चार सिमेन्ट कम्पनी मध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा अघि देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको नाफा १२३ प्रतिशतले बढेर ५३ करोड ८३ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसअवधिमा शिवम सिमेन्टले समेत ३५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.२८ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा सोनापुर ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी १२ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।
घोेराही सिमेन्टको नाफा भने २६ करोड ४९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।
प्रतिशेयर आम्दानी कसको कति ?
चार सिमेन्ट कम्पनी मध्ये नाफामा अग्र स्थानमा रहेको सर्वोत्तम प्रतिशेयर आम्दानीमा समेत नम्बर वानमा रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २०.६१ रुपैयाँ रहेको छ ।
शिवमको प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ र सोनापुरको १.५४ रुपैयाँ रहेको छ । साथै, घोराहीको भने प्रतिशेयर आम्दानी ५.२७ रुपैयाँ ऋणात्मक रहेको छ ।

चुक्तापुँजी कसको कति ?
चुक्तापुँजी धेरै हुनेमा शिवम सिमेन्ट पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.५० प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा सर्वोत्तमको चुक्तापुँजी ५ अर्ब २२ करोड रुपैयाँ रहेको छ । चार कम्पनी मध्ये धेरै चुक्तापुँजी हुने सर्वोत्तम दोस्रो हो ।
साथै, घोराहीको चुक्तापुँजी ४ अर्ब २ करोड रुपैयाँ र सोनापुरको ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको छ
उत्पादन बिक्रीबाट हुने आम्दानी
उत्पादन बिक्रीबाट हुने आम्दानीमा भने सर्वाेत्तमको ४ अर्ब ८ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त आम्दानी गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.५२ प्रतिशतले बढी हो ।
त्यस्तै, शिवम सिमेन्टको ३ अर्ब ९ करोड, घोराहीको २ अर्ब ८ करोड र सोनापुरको १ अर्ब ६९ करोड रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी भएको छ ।
जगेडा कोष
जगेडा कोषमा शिवमको ३ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । यो चार सिमेन्ट मध्यकै सबैभन्दा धेरै हो ।
यता, सर्वोत्मको ३३ करोड ६८ लाख, घोराही सिमेन्टको ६८ करोड ७० लाख र सोनापुरको १ अर्ब १५ करोड ७७ लाख रुपैयाँ जगेडा कोषमा रहेको छ ।
नेटवर्थ कस्को कति ?
प्रतिशेयर नेटवर्थमा सोनापुर सबैभन्दा अघि रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको नेटवर्थ १९१.४२ रुपैयाँ रहेको छ ।
यता, दोस्रो नम्बरमा रहेको सर्वोत्तम सिमेन्टको १८८.९२ रुपैयाँ, शिवमको १८०.३८ रुपैयाँ र घोराही सिमेन्टको १६६.५८ रुपैयाँ रहेको छ ।












