निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सहित ३ जना भ्रष्टाचारी ठहर

काठमाडौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयमा भएको डिजेल सम्बन्धी भ्रष्टाचारमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ।
अदालतले कार्यालय प्रमुख चित्तरञ्जन दाससहित निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही पाँच महिना कैद र जरिवाना गर्ने निर्णय सुनाएको हो।
दोषी ठहर भएका तीन जनाले बिगोको आधा रकम बराबर दामासाही हिसाबले जनही ५६ हजार ६५ रुपैयाँ ७२ पैसा जरिवाना तिर्नुपर्नेछ। साथै उनीहरूलाई पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क बुझाउन पनि आदेश दिइएको छ।
यसै मुद्दामा गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटविरुद्ध भने पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै अदालतले सफाइ दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिलभन्दा बढी मात्रामा डिजेल दिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो। १२ हजार लिटर पठाउनुपर्ने डिजेलको सट्टा १५ हजार ३८ लिटर पठाएको पाइएपछि डिजेल बोकेको ट्याङ्करलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।












