मनमोहन कार्डियोथोरासिक सेन्टरमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वाल सफल शल्यक्रिया

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एमआइसीएस प्रविधिबाट एक पुरुषको जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ। ओखलढुंगा चिसंखुगढी गाउँपालिका–६ का ४२ वर्षीय पुरुषको उक्त प्रविधिबाट ओपन हार्ट सर्जरी सफलतापूर्वक सम्पन्न भएको हो।
मुटुरोग विशेषज्ञ प्राडा अनिल भट्टराईका अनुसार एमआइसीएस काखीमुनि सानो प्वाल पारेर गरिने आधुनिक शल्यक्रिया प्रविधि हो, जसमा छाती पूरै चिर्नु पर्दैन। यस किसिमको अत्याधुनिक प्रविधिबाट गरिएको यो शल्यक्रिया नेपालमै पहिलो पटक भएको उनले बताए।
उक्त बिरामी करिब डेढ महिनाअघि छाती दुख्ने समस्या लिएर अस्पताल पुगेका थिए। इको कार्डियोग्राफी परीक्षण गर्दा उनको मुटुमा जन्मजात प्वाल अर्थात् भेन्ट्रिकुलर सेप्टल डिफेक्ट (भीएसडी) देखिएको डा भट्टराईले जानकारी दिए। मुटुमा प्वाल भएकै कारण यसअघि पनि उनलाई दुई पटक संक्रमणको समस्या भइसकेको थियो।
समस्या पहिचान भएपछि उनी एक साताअघि शल्यक्रियाका लागि अस्पताल भर्ना भएका थिए। शल्यक्रिया सफल भएपछि आज उनलाई डिस्चार्ज गरिएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको डा भट्टराईले बताए।
डा भट्टराईको नेतृत्वमा सम्पन्न शल्यक्रियामा डा रवि बराल, डा प्रभात खकुरेल, डा समिर यादव तथा प्राडा विश्वास प्रधान सहभागी थिए।












