सुपर-८ को आशा जोगाउने अन्तिम मौका : आज वेस्ट इन्डिजविरुद्ध दबाबमा नेपाल

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज बलियो टोली वेस्ट इन्डिजको सामना गर्दैछ। नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा बिहान ११:१५ बजेदेखि शुरू हुनेछ।
इटालीसँग अप्रत्याशित हार बेहोरेपछि नेपाली टोलीका लागि यो खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ। लगातार दुई खेलमा पराजय भोगिसकेको नेपालका लागि सुपर–८ मा पुग्ने सम्भावना जटिल बनेको छ। बाँकी आशा जीवित राख्न आजको खेल जित्नैपर्ने दबाबमा नेपाल मैदान उत्रनेछ। पराजित भएको खण्डमा नेपाल अन्तिम खेलअघि नै समूह चरणबाट बाहिरिनेछ।
वेस्ट इन्डिज भने उत्कृष्ट लयमा देखिएको छ। लगातार दुई जितसहित सुपर–८ नजिक पुगेको दुईपटकको विश्व विजेता टोली आज पनि आत्मविश्वासका साथ मैदानमा उत्रनेछ। वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले र इङ्ल्याण्डलाई ३० रनले पराजित गर्दै आफ्नो दबदबा देखाइसकेको छ।
नेपालको प्रदर्शन भने उतार–चढावपूर्ण देखिएको छ। पहिलो खेलमा इङ्ल्याण्डविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि दोस्रो खेलमा १० विकेटको हारले ब्याटिङ र बलिङ दुवै पक्षमा कमजोरी उजागर भएको छ।
नेपाल र वेस्ट इन्डिजबीच सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा भेट कमै भएको छ। यद्यपि, गत वर्ष यूएईमा भएको तीन खेलको सिरिजमा नेपालले २–१ को जित हात पारेको थियो। त्यस सिरिजका वेस्ट इन्डिजतर्फका जेसन होल्डर र अकिल होसेन मात्र हालको टोलीमा छन्। नेपालको भने अधिकांश खेलाडी यथावत् छन्। सन् २०२३ मा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा भने नेपाल वेस्ट इन्डिजसँग पराजित भएको थियो।












