निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै शिखर नगरपालिकाका प्रमुख र उपप्रमुखले उद्घाटन गरे भवन

दिपक विष्ट
३ फाल्गुन २०८२, आईतवार १७:४०

काठमाडौँ । निर्वाचन आचारसंहिता २०८२ को धज्जी उडाउँदै डोटीको शिखर नगरपालिकाले भवन उद्घाटन गरेको खुलेको छ । नगरपालिकाका प्रमुख दिर्घ बलायर र उपप्रमुख सुनिता रावल जोरा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेको पाइएको हो ।

निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ३ अन्तर्गतको दफा ५ को ख (ग) मा निर्वाचन अवधिभर कुनै पनि सरकारी वा सार्वजनिक योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण, सम्भाव्यता अध्ययन वा त्यसका लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नपाइने स्पष्ट व्यवस्था छ । उक्त दफामा यस्ता गतिविधिले मतदातालाई प्रभावित पार्न सक्ने भएकाले रोक लगाइएको उल्लेख छ । तर, सो प्रावधान हुँदाहुँदै पनि नगर प्रमुख र उपप्रमुखले औपचारिक कार्यक्रमका साथ भवन उद्घाटन गरेको पाइएको हो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०८२ माघ ५ गतेदेखि नै लागू भइसकेको छ । यस अवधिमा जनप्रतिनिधि तथा पदाधिकारीले विशेष सतर्कता अपनाउनुपर्ने भए पनि जिम्मेवार पदमै रहेका व्यक्तिहरूबाटै आचारसंहिता मिचिएको हो । निर्वाचनको मुखमा यस्ता गतिविधि हुनु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाउने खालको भएको टिप्पणी हुन थालेको छ ।

यसअघि पनि विभिन्न प्रशासनिक र राजनीतिक विवादका कारण चर्चामा रहँदै आएको शिखर नगरपालिका पछिल्लो भवन उद्घाटन प्रकरणले ती बहसलाई थप चर्काएको छ । नगर प्रमुख बलायर र उपप्रमुख जोरा दुवै नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि हुन् । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले त्यसको मर्यादा कायम राख्नु सबै राजनीतिक दल, जनप्रतिनिधि र राज्य संयन्त्रको साझा दायित्व हो । तर, शिखर नगरपालिकाका प्रमुख र उपप्रमुखले मनपरी ढङ्गले भवन उद्घाटन गरेको देखिन्छ ।

आयोग भन्छ ‘उजुरी दिनु’

नगरपालिकाले बनि सकेको भवन समेत निर्वाचन आचारसंहिता लागु भइसकेको समयमा उद्घाटन समेत गर्ने नमिल्ने डोटी जिल्ला निर्वाचन अधिकारी करुणाकर पन्तले जानकारी दिए । बीमापोष्टसँग कुरा गर्दै उनले भने, ‘बनि सकेको भवन भएपनि यो समयमा उद्घाटन गर्न निर्वाचन आचारसंहिता रोक्छ । सो उद्घाटनमा पार्टीका ब्यक्ति आउने भाषण गर्ने जस्ता कार्य हुने हुँदा यस्तो कार्यमा रोक लागेको हो ।’

शिखर नगरपालिकाले भवन उद्घाटन गरेको विषयमा भने उनले उजुरी प्राप्त हुनु पर्ने बताए । ‘हामीलाई उजुरी आउनु पर्छ । उजुरी सिधै फोन गरेर मुख्य निर्वाचन आयुक्तलाई जानकारी तथा लिखित उजुरी समेत दिन सकिन्छ । अनि मात्रै आयोगले एक्सन लिन्छ’ पन्तले भने ।

नगरपालिकाले भन्यो ‘सामान्य अनौपचारिक उद्घाटन हो’

नगरपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत परमानन्द शर्माले भने कुनै पनि औपचारिक कार्यक्रम नराखी भवन उद्घाटन गरिएको बताए । उनले भने, ‘नगरको प्राङ्गणमा रहेको मन्दिरमा पूजा गर्ने भनिएको थियो । शिवरात्रिको शुभ दिन भएका कारण भवनको समेत उद्घाटन गरिएको हो ।’

मेयरले प्रमुख जिल्ला अधिकारीको सर–सल्लाहबाट नै भवन उद्घाटन गरीएको शर्माले बताए । ‘मेयर ज्यूले मैले सीडिओबाट अनुमति पाइसकेको भन्नु भएको थियो । उहाँले पनि गर्न मिल्ने भनेपछि गरिएको हो’ उनले भने ।

पार्टीसँग सम्बन्धीत हुनै ब्यक्ति सो उद्घाटन समारोहमा नआएको शर्माको भनाई छ ।

प्रमुख जिल्ला अधिकारीले भनिन् ‘कुनै खाले अनुमति दिएको छैन’

डोटी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भने शिखर नगरपालिकालाई भवन उद्घाटन गर्न कुनै खाले अनुमति नदिएको बताइन् । बीमापोष्टसँग बोल्दै उनले भनिन्, ‘मसँग कुरा त भएको थियो । मैले अहिले यो समयमा उद्घाटन नगर्न नै भनेको थिए ।’

निर्वाचन आचारसंहिता मिचिएको भए सम्बन्धीत ठाउँमा स्थानियले उजुरी दिनुपर्ने घिमिरेले बताइन् ।

यस विषयमा शिखर नगरपालिका प्रमुख बलायरसँग सम्पर्क गर्ने खोज्दा उनी सम्पर्कमा नै आउन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*