प्रविधिमैत्री सेवातर्फ विद्युत प्राधिकरणको फड्को, ‘एई साथी’ एप ल्याउने तयारी

४ फाल्गुन २०८२, सोमबार १०:२६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रविधिको तीव्र विकाससँगै सेवाप्रवाहलाई अझ प्रभावकारी र प्रयोगमैत्री बनाउने उद्देश्यसहित नयाँ डिजिटल पहल अघि सारेको छ । संस्थालाई सरल, सक्षम र भविष्यउन्मुख बनाउने दीर्घकालीन रणनीतिअनुसार प्राधिकरणले ‘एनइए एई साथी’ नामक कृत्रिम बुद्धिमत्तामा आधारित प्रणाली (एप) सञ्चालनको तयारी थालेको हो ।

एआईलाई केवल प्रविधिका रूपमा नभई संस्थागत सहायकका रूपमा आत्मसाथ गर्ने अवधारणासहित उक्त प्रणाली विकास गर्न लागिएको प्राधिकरणले जनाएको छ । यही सोचलाई व्यवहारमा उतार्न ‘ह्याकाथन इभेन्ट–२०८२’ आयोजना गरिएको हो, जहाँ संस्थाभित्रकै कर्मचारीहरूले एआई प्रयोगसम्बन्धी विभिन्न नवीन प्रस्तावहरू प्रस्तुत गरेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार एआईलाई जटिल र टाढाको प्रविधि होइन, आवश्यक पर्दा सम्झिने र सहयोग लिने साथीका रूपमा विकास गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको हो । ‘एई साथी’ नाम आफैंमा जनमैत्री र आकर्षक रहेको उल्लेख गर्दै उनले यसले प्रविधिलाई आत्मीय, सहज र प्रयोगमैत्री रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । सेवाग्राहीले आवश्यक जानकारी तथा सेवाका लागि ‘एई साथी’ लाई सहज रूपमा प्रयोग गर्न सक्ने वातावरण क्रमशः विकास हुँदै जाने उनको भनाइ छ ।

ह्याकाथनमार्फत संस्थाका कर्मचारीबाट २७ वटा प्रस्ताव प्रस्तुत भएका छन् । ती प्रस्तावहरू ग्राहक सेवा सुधार, प्रशासनिक कार्यप्रवाह सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरणलगायतका विषयमा केन्द्रित रहेको प्राधिकरणले जानकारी दिएको छ । प्रस्तुत अवधारणाहरूको विस्तृत मूल्यांकनपछि उत्कृष्ट र व्यवहारिक प्रस्तावहरू छनोट गरी चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।

छनोट भएका अवधारणाहरूलाई परीक्षण र विकास प्रक्रियामार्फत संस्थागत प्रणालीमा समावेश गरिने जनाउँदै कार्यकारी निर्देशक शाक्यले अहिलेको युग एआईको युग भएकाले सार्वजनिक संस्थाहरू पनि समयअनुसार रूपान्तरण हुन आवश्यक रहेको बताए ।

प्राधिकरणले ‘एई साथी’ अवधारणालाई संस्थागत नवप्रवर्तन, डिजिटल रूपान्तरण र सेवा सुधारतर्फको महत्वपूर्ण सुरुआतका रूपमा लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*