स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीभित्र भाँडभैलोः अध्यक्ष नै निकालिए, लगानीकर्ता जोखिममा

काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडभित्र भाँडभैलो मच्चिएको छ भने कम्पनीको सञ्चालक समितिका अध्यक्ष श्रवण कुमार गोयल निकालिएका छन्। उनले कम्पनीभित्र भएको आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामा देखिएको समस्यालाई सम्बोधन गर्न खोज्दा योजनावद्ध रूपमा आफूलाई निकालिएको बताएका छन्।
गोयलले कम्पनीका सञ्चालकहरूले आग्रह गरेपछि उनले ठूलो परिमाणमा शेयर खरिद गरी मिति गत असोज १३ गते सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। तर कम्पनीको “फाइनान्सियल क्लोजर” सम्पन्न भएपछि भने सञ्चालक र व्यवस्थापन पक्षले कम्पनीको निर्णय विना नै सर्वसाधारणबाट पैसा उठाउने, आयव्यय पारदर्शी रूपमा प्रस्तुत नगर्ने तथा बैठकको प्रक्रिया मिचेर निर्णय गर्ने जस्ता गतिविधि गरेको बताएका छन्।
उनले यस्ता कानून विपरीतका कार्य रोक्न पटक–पटक लिखित तथा मौखिक रूपमा आग्रह गरे पनि बेवास्ता गरिएको बताएका छन्। त्यसपछि कम्पनी ऐन, २०६३ को दफा १७८ अनुसार कारबाहीको माग गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा माघ २५ गते निवेदन दर्ता गरिएको र उक्त निवेदन हाल विचाराधीन रहेको पनि बताएका छन्।
उजुरी दिएको विषय थाहा पाएपछि आफूलाई कम्पनीको प्रबन्धपत्र र नियमावली विपरीत जबरजस्ती अध्यक्ष पदबाट हटाइएको बताएका छन्। कम्पनीको पछिल्लो गतिविधिबाट आफूलाई केबल फाइनान्सियल क्लोजरका लागि मात्र अध्यक्ष बनाइएको स्पष्ट भएको उनको भनाइ छ। उनले कम्पनीका नाममा आफूले दिएको व्यक्तिगत जमानीका आधारमा थप ऋण प्रवाह नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई अनुरोध समेत गरेका छन्। यदि आफ्नो जानकारी विना ऋण प्रवाह भएको खण्डमा त्यसको जिम्मेवारी आफूले नलिने स्पष्ट अडान लिएका छन्।
साथै कम्पनीमा आफू अब अध्यक्ष नरहेको र अबदेखि आफू संलग्न रहेको भन्दै आफ्नो नाम प्रयोग गरी कसैले लगानी उठाए त्यसप्रति आफू जिम्मेवार नहुने बताएका छन्। कम्पनीभित्र विवाद उत्कर्षमा पुगेको अवस्थामा कम्पनीमा लगानी गरेका लगानीकर्ताको सम्पत्ति नै जोखिममा परेको छ।












