बीमा प्रिमियममा ९९ हजारको नगद सीमा अव्यवहारिक, बैंक सरह पाँच लाख पुर्याउन अभिकर्ता संघको माग

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाललले बीमा क्षेत्रमा अनावश्यक हस्तक्षेप भएको भन्दै नगद कारोबारको सिमा बढाउन माग गरेको छ।
बीमा प्रिमियममा ९९ हजारको नगद सीमा अव्यवहारिक भएको गुनासो अभिकर्ताहरुले गर्दै आएपनि प्राधिकरणले वेवास्ता गरेसँगै संघले लिखित रुपमा नै दैनिक कामकारवाहीमा समस्या भएको बिषयमा जानकारी गराएको छ । संघले बीमा क्षेत्रलाई पनि बैंक रिह नै पाँच लाख पुर्याउन माग राखेको छ ।
दैनिक कामकारवाहीमा नै समस्या देखिन थालेपछि प्राधिकरणलाई नगद कारोबारको सिमा बढाउन माग गरेको संघका अध्यक्ष केदारनाथ अधिकारीले बीमापोष्टलाई जानकारी दिएका छन् ।
संघले हाल बीमा क्षेत्रमा ९९ हजार रुपैयाँ मात्रै नगद दाखिला गर्न मिल्ने प्रावधानले सम्रग बीमा क्षेत्रलाई असहज भएको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।
हाल बैंकिङ्ग प्रणालीमा ४ लाख ९९ हजार रुपैयाँ दाखिला गर्न मिले पनि बीमामा भने ९९ हजार रुपैयाँ मात्रै दाखिला गर्न मिल्ने बाध्यतकारी नियमले अभिकर्ताहरुलाई समस्या भएको प्राधिकरणलाई जानकारी गराएको छ।
नगद कारोबारको सिमाको कारण अभिकर्ताहरुलाई बीमा किस्ता असहज, झन्झटिलो, खर्चिलो समय भएकोले बैंक सरह व्यवस्था गरिदिन माग गरेका छन् ।
बैंकलाई ५ लाखभित्रसम्मको सिमा तोक्दा बीमा कम्पनीलाई १ लाख मात्रै तोकिदा बीमा अभिकर्ताहरुलाई दैनिक काम गर्न समस्या भएको भन्दै यसअघि पनि गुनासो प्राधिकरणमा पुगिसकेको थियो ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको ५ लाखसम्मको नगद कारोबारको सीमा माघ १ गतेदेखि कार्यान्वयनमा आइसकेको छ भने बीमा प्रिमियममा भने १ लाख भित्र नगद कारोबारको सीमा तोकिसकेको छ ।
चेक क्लियरिङ तथा भुक्तानीसम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै केन्द्रीय बैंकले गत २५ पुस, २०८२ मा बैंक तथा वित्तीय संस्थाहरूलाई एक निर्देशन जारी गर्दै ५ लाखमाथिको आर्थिक कारोबारमा अनिवार्य चेकमार्फत गर्न निर्देशन गरेको थियो । उक्त निर्देशन बिहीबार अर्थात् माघ १ गतेदेखि कार्यान्वयनमा आएको हो ।
यसअघि यस्तो व्यवस्था इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले १० लाख रुपैयाँसम्मको कारोबारमा नगदै लिन र दिन सक्थे । तर, पछिल्ला दिनहरूमा वित्तीय जोखिम बढ्दैगर्दा खासगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा नगद कारोबार बढ्न थालेको आशंकापछि केन्द्रीय बैंकले यस्तो नगद कारोबारको सीमालाई १० लाखबाट घटाउँदै ५ लाखमा झारेको हो ।
सो व्यवस्था अन्तर्गत बैंकहरूले नगद पाँच लाख रुपैयाँभन्दा बढी नगद लिन र दिन पाउने छैनन् । तथापि, केन्द्रीय बैंकको निर्देशनअनुसार ५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नुपर्दा चेकमार्फत वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।
राष्ट्रिय स्तरका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्थाहरूलाई समेत सो निर्देशन जारी गरेको केन्द्रीय बैंकले फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकहरूको भुक्तानीसमेत एकाउन्टपेयी हुनुपर्ने जनाएको छ ।












