१५ दिनको अन्तरालमा दुईवटा ग्रहण लाग्दै

काठमाडौं । अबको पन्ध्र दिनको अन्तरालमै दुईवटा ग्रहण लाग्दैछ। भोलि फागुन ५ गते सूर्यग्रहण र लगत्तै फागुन १९ गते चन्द्र ग्रहण लाग्ने भएको हो।
भोलि फागुन ५ गते मंगलबार फागुन कृष्ण पक्ष औंसी तिथि (१५ फेब्रुअरी २०२६) का दिन औंठी आकार सूर्यग्रहण लाग्नेछ। भोलि चन्द्रमाले सूर्यलाई छेक्दा पृथ्वीबाट ‘रिङ अफ फायर’ जस्तो आकृति देखिनेछ। यो ग्रहण नेपाली समयअनुसार भोलि दिउँसो करिब ३ बजेर ४१ मिनेटदेखि राति ८ बजेर १२ मिनेटसम्म रहनेछ।
यो ग्रहण करीब ४ घण्टा ३२ मिनेटसम्म रहनेछ भने ग्रहणको मध्य समय ५ बजेर ५७ मिनेटमा हुनेछ। यस अवधिमा सूर्य औंठी आकार जस्तो देखिनेछ। जहाँ सूर्यको बीच भाग ढाकिनेछ भने बाहिरी किनारा चम्किलो घेराजस्तै देखिनेछ। सूर्य ग्रहण शुरू हुनुभन्दा १२ घण्टा अघिदेखि नै सूतककाल आरम्भ हुन्छ। तर भोलिको ग्रहण नेपाल/भारतबाट भने देखिने छैन। ग्रहण नै नदेखिने भएपछि त्यसको सूतक नलाग्ने शास्त्रीय मान्यता रहेको छ।
ज्योतिषीय र खगोलीय दृष्टिले यो ग्रहण निकै महत्त्वपूर्ण मानिएको छ। करीब ३७ वर्षपछि कुम्भ राशिमा पाँचवटा ग्रहहरूको दुलर्भ संयोग बन्दै गर्दा यो ग्रहण लाग्न लागेको हो। यो सूर्यग्रहणको समयमा कुम्भ राशिमा सूय र चन्द्रमाका साथै वुध, शुक्र र राहुको उपस्थिति रहनेछ। यो ग्रहण मुख्यतया अन्टार्कटिका, दक्षिण अफ्रिका, मौरिसस, जिम्बाब्वे, नामिबिया र दक्षिण अमेरिकाका केही भागबाट देखिनेछ।
त्यस्तै २०८२ फाल्गुन १९ गते मंगलबार फाल्गुन शुक्ल पूर्णिमा तिथि (३ मार्च २०२६) का दिन ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्नेछ। यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिने र रात्रि ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ। १९ गते मंगलबार बिहान ९ बजेर ३ मिनेटदेखि नै बाल, वृद्ध, रोगी र आतुरलाई बाहेक अन्यलाई भोजन गर्न शास्त्रीय रूपमा निषेध गरिएको छ।
यो ग्रहणले मेष राशि भएकालाई चिन्ता, वृषलाई व्यथा, मिथुनलाई श्रीपाप्ती, कर्कटलाई क्षति, सिंहलाई घात, कन्यालाई व्यय, तुलालाई लाभ, वृश्चिकलाई सुख, धनुलाई माननाश, मकरलाई कष्ट, कुम्भलाई स्त्रीपीडा र मीनलाई सुख मिल्नेछ। यो चन्द्रग्रहण मिथुन, तुला, वृश्चिक र मीन राशि भएकाले हेर्न सक्नेछन्। पूर्वाफाल्गुनी नक्षत्रमा जन्म भएका र सिंह राशि भएका मानिसहरूका लागि यो ग्रहण कष्टदायी हुनेछ।
ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ । ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसै गरी, तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र मार्न पनि नहुने शास्त्रीय मान्यता रहेको छ। यद्यपि यसको वैज्ञानिक प्रमाण भने छैन।












