सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ।
आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाचारले आचारसंहिताको प्रावधान उल्लङ्घन गरेको देखिएको हो। चितवन–३ निर्वाचन क्षेत्रलाई लक्षित गर्दै प्रकाशित ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ शीर्षकमा समाचारप्रति आयोगले आपत्ति जनाएको छ।
आयोगले पठाएको पत्रमा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म मत परिणामसम्बन्धी सर्वेक्षण गर्ने, त्यसको नतिजा सार्वजनिक गर्ने वा प्रकाशन गर्ने कार्य आचारसंहिता विपरीत हुने उल्लेख छ। साथै, कसैको पक्ष वा विपक्षमा समाचार सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्थालाई पनि स्मरण गराइएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) र दफा २५ को उपदफा (१) को खण्ड (ख) विपरीत सामग्री प्रकाशित भएको ठहर गर्दै आयोगले सेतोपाटीमाथि आवश्यक कारबाही गर्न प्रेस काउन्सिलसँग अनुरोध गरेको जनाएको छ।













