अस्ट्रेलियामा ढुकुटी खेल्ने नाममा ठगीको जालो फस्दै नेपाली, लाखौं रकम गुम्दा रुवाबासी!

काठमाडौँ । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबीच परम्परागत बचत प्रणाली ‘ढुकुटी’ ले पछिल्लो समय गम्भीर समस्या निम्त्याइरहेको पाइएको छ । अस्ट्रेलियामा गैरकानुनी मानिने ढुकुटी खेलेर नेपालीहरूले लाखौँदेखि करोडौँ रुपैयाँसम्म गुमाउन बाध्य भएका घटनाहरू सार्वजनिक हुन थालेका हुन् ।
ढुकुटी भन्नाले चिनजान भएका व्यक्तिहरूबीच नियमित रूपमा निश्चित रकम जम्मा गर्दै जाने र पालोअनुसार जम्मा भएको पूरै रकम एक–एक जनाले लिने प्रणाली हो। सामान्यतया साथीभाइ, आफन्त, छिमेकी वा सहकर्मीबीच विश्वासको आधारमा यस्तो अभ्यास चलाइन्छ। हरेक सदस्यले हरेक महिना वा तोकिएको अवधिमा समान रकम बुझाउँछ र पहिले नै तय गरिएको पालोअनुसार एक जनाले एकमुष्ट रकम प्राप्त गर्छ। नेपालमा यो अभ्यासले नियमित बचत गर्ने बानी बसाल्नुका साथै एकैचोटि ठूलो रकम आवश्यक पर्दा सहज समाधान दिने माध्यमका रूपमा काम गर्दै आएको छ।
तर यही विश्वासमा आधारित प्रणाली विदेशमा बस्ने नेपालीहरूका लागि जोखिमपूर्ण बन्दै गएको छ। विशेषगरी अस्ट्रेलियामा ढुकुटीलाई अवैध वित्तीय कारोबारका रूपमा लिइने भएकाले यस्तो गतिविधिमा संलग्न भए कानुनी कारबाहीको जोखिमसमेत रहने जानकारहरू बताउँछन्। अस्ट्रेलियाली कानुनअनुसार अनुमति बिना सामूहिक रूपमा रकम संकलन र वितरण गर्ने गतिविधि गैरकानुनी मानिन्छ, जसमा संलग्न भएमा पाँच वर्षसम्मको जेल सजायको प्रावधान रहेको उल्लेख गरिन्छ।
कानुनी बन्देज हुँदाहुँदै पनि अस्ट्रेलियामा रहेका नेपालीहरू ढुकुटी खेल्न सक्रिय देखिन्छन्। आकर्षक प्रतिफल, छिटो ठूलो रकम हात पार्ने चाहना र आपसी चिनजानकै आधारमा विश्वास गर्ने प्रवृत्तिले धेरैलाई यो प्रणालीतर्फ आकर्षित गरेको देखिन्छ। तर यही विश्वास कमजोर बन्दै जाँदा समस्या विकराल बन्दै गएको छ । केही घटनामा ढुकुटीको रकम संकलन गर्ने व्यक्ति वा पालो पाएपछि रकम बुझाउनुपर्ने सदस्य सम्पर्कविहीन हुने, रकम लिएर भाग्ने वा अस्ट्रेलियाबाटै अन्यत्र सर्ने गरेको पाइन्छ।
यस्ता घटनामा पीडितहरू करोडौँ रुपैयाँसम्म गुमाउन बाध्य भएका छन्। ढुकुटी गैरकानुनी भएकै कारण पीडितहरूले प्रहरी वा अदालतमा उजुरी गर्नसमेत हिच्किचाउने गरेका छन्। उजुरी दिए आफ्नै संलग्नता पनि कानुनी झमेलामा पर्न सक्ने डरले धेरै घटना बाहिर नआएको समुदायका जानकारहरू बताउँछन्। फलस्वरूप, ठगी गर्नेहरू झनै हौसिएका छन् भने पीडितहरू आर्थिक तथा मानसिक तनावमा परिरहेका छन्।
अस्ट्रेलियामा अध्ययन, रोजगारी वा स्थायी बसोबासका लागि पुगेका धेरै नेपाली सीमित आम्दानीमै जीवन चलाइरहेका हुन्छन्। त्यसमाथि ढुकुटीमा गुमेको ठूलो रकमले उनीहरूको भविष्य योजना नै प्रभावित हुने गरेको छ। कतिपयले पढाइ छोड्नुपर्ने, ऋणमा डुब्नुपर्ने वा नेपालमा रहेको परिवारलाई पठाउनुपर्ने रकम गुमाउँदा पारिवारिक तनावसमेत बढेको देखिन्छ।












