काठमाडौंमा वायु प्रदूषण ‘सबैका लागि अस्वस्थ’ स्तरमा, विश्वको तेस्रो प्रदूषित सहर

५ फाल्गुन २०८२, मंगलवार १३:२२

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। सोमबार मध्याह्न १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंगलबार मध्याह्न १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वास तथा मुटुरोगीलाई बढी असर पार्न सक्छ।

मंगलबारको तथ्याङ्क अनुसार काठमाडौं उपत्यका विश्वकै तेस्रो प्रदूषित सहरको सूचीमा परेकी छ। भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा रहेको छ।

वर्षा नभए आगामी दिनमा प्रदूषण अझै बढ्न देखिन्छ । वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषण उच्च हुने गर्छ ।  उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल र पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, वन डढेलो र लामो समयको सुक्खा मौसमले वायु प्रदूषण बढाएको हो।

वायु गुणस्तर सूचकाङ्क अनुसार ०–५० एक्युआईलाई ‘राम्रो’, ५१–१०० ‘सचेत रहनुपर्ने’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्तै खतरनाक’ मानिन्छ।

काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा बढी पुगेको अवस्था विपद् मानिन्छ। यस्तो अवस्थामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ‘ब्रुमर’ तथा ‘भ्याकुम’को प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ। साथै प्रमुख सहर, औद्योगिक क्षेत्र र प्रदूषण जोखिम भएका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गरिने व्यवस्था छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*