पुँजी बजार राताम्य: फाइनान्स र विकास बैंकमा गिरावट, किन बढ्न सकेको छैन मार्केट ?

काठमाडौँ । शेयर बजारमा राताम्य यात्रा लगातार जारी रहेको छ । मंगलबार बजार दोहोरो अंकले ओरालो लागेको हो । धेरै लगानीकर्ताले बजार बढ्ने अपेक्षामा शेयरमा लगानी गरेका भए पनि अपेक्षित प्रतिफल नपाउँदा बिक्रीतर्फ ध्यान केन्द्रित हुन थालेको छ । यसले बजारमा आपूर्ति बढाउँदा माग कमजोर भएको देखिएको छ ।
विश्लेषकहरूका अनुसार लगानीकर्ताको डर र सतर्कताले बजार अस्थिर बनाएको छ । छोटो अवधिमा बजारलाई सन्तुलनमा ल्याउन चुनौती रहेको बताइन्छ । लगानीकर्ताहरू अहिले पर्ख र हेर को स्थितिमा रहेकाले बजारमा तरलता सीमित हुने सम्भावना देखिएको छ ।
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन लागेकोले लगानीकर्ताहरू आगामी नीतिगत स्पष्टताका लागि प्रतीक्षारत छन्। चुनावपछि नयाँ नेतृत्व सेयर बजारको नीति कस्तो बनाउने हो भन्ने अझै स्पष्ट नभएको कारण लगानीकर्तामा सतर्कता कायम छ।
यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने संकेत र पुँजी बजारप्रति उदार नीति अपनाउने प्रयास गरिरहेका छन्। भविष्यमा यी पहलले बजारमा क्रमशः स्थायित्व र सुधार ल्याउने सम्भावना छ, तर अहिलेसम्म अपेक्षित प्रभाव देखिएको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७५ अकंले घटेर २६४२.१५ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ समूहको शेयर मूल्य ओरालो लागेको छ । फाइनान्स कम्पनीको २.११ प्रतिशत, विकास बैंक समूहको १.१८ प्रतिशत, हाइड्रोपावर समूहको १.६३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
मंगलबार ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मात्रै स्थिर रहेको हो ।













