अमेरिका लैजाने नाममा संगठित ठगीः दुई प्रतिवादीविरुद्ध ९८ करोडको मनी लाउण्डरिङ मुद्दा

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी कसुरमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ।
रूकुम पश्चिमको साविक बाफिकोट गाउँपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौं बस्दै आएका कलबहादुर बस्नेत र रूकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका अमित बस्नेतविरुद्ध मुद्दा दायर गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत फागुन ४ गते काठमाडौं जिल्ला अदालतमा आरोपपत्र दायर गरिएको जनाइएको छ।
कलबहादुर बस्नेत यसअघि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा पुर्पक्षका लागि डिल्लिबजार कारागार कार्यालयमा थुनामा रहेका छन् भने सोही मुद्दामा अमित बस्नेत फरार अवस्थामा रहेको उल्लेख गरिएको छ।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले करिब २५० जना नेपाली नागरिकलाई गैरकानुनी मार्ग प्रयोग गरी विभिन्न मुलुक हुँदै अमेरिका प्रवेश गराएको, केही व्यक्तिलाई अमेरिका लैजाने प्रलोभनमा पारेर विभिन्न देशमा अलपत्र पारेको तथा मानव बेचबिखन, ठगी र वैदेशिक रोजगार ठगीजस्ता कसुर गरेको खुलेको छ।
उक्त अवैध गतिविधिबाट आर्जित रकम नगद तथा विभिन्न बैंक खातामार्फत शुद्धीकरण गरिएको पाइएको सम्बन्धित निकायले जनाएको छ। कलबहादुर बस्नेतको नाममा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा र अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार ०२८ रुपैयाँ ९४ पैसा गरी जम्मा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ २७ पैसा बराबरको बिगो कायम गरिएको छ।
सोही बिगो बराबरको दोब्बर जरिवाना तथा कसुरको गम्भीरताअनुसार दुईदेखि १५ वर्षसम्म कैद सजायको मागदाबी लिइएको छ। साथै प्रतिवादीहरूको नाममा रहेका घरजग्गा, बैंक मौज्दात र बीमा रकमसमेत जफत गर्न अदालतसमक्ष माग गरिएको छ।












