आज जनकपुरबाट कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक हुँदै

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तयार पारेको चुनावी घोषणापत्र आज जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ। मधेश प्रदेशमा केन्द्रित शक्ति प्रदर्शन सहित घोषणापत्र सार्वजनिक गर्न लागिएको पार्टीले जनाएको छ।
मधेशका सबै आठ जिल्लाबाट नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा सहभागी गराउने र ठूलो जनप्रदर्शन गर्ने तयारी कांग्रेसले गरेको छ। सभामा पार्टीका प्रमुख नेताहरूको उपस्थिति रहने बताइएको छ। विशेषगरी पार्टीका सभापति गगन थापा सहित केन्द्रीय नेतृत्व सहभागी हुने कार्यक्रम तय गरिएको छ।
पार्टीले सार्वजनिक गर्न लागेको घोषणापत्रमा मधेश प्रदेशको आर्थिक र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखिएको जनाएको छ। रोजगारी सिर्जना, कृषि क्षेत्रको आधुनिकीकरण, सिंचाइ र भण्डारण पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक निर्माण, लगानी प्रवद्र्धन र सुशासनजस्ता विषयलाई प्रमुख एजेन्डाका रूपमा समेटिएको कांग्रेसले जनाएको छ।
मधेशमा बढ्दो बेरोजगारी, कृषि उत्पादनको सीमित वृद्धि र आधारभूत सेवाको कमजोर अवस्थालाई सुधार गर्ने उद्देश्यले नीति तथा कार्यक्रम तयार गरिएको र मधेशको आर्थिक विकासलाई राष्ट्रिय समृद्धिसँग जोडेर घोषणापत्र तयार गरिएको पनि कांग्रेसले बताएको छ।












