रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा चलखेल, सिमित ब्रोकरमा मात्रै कारोबार

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य दोस्रो कारोबार दिनमै ९.६४ प्रतिशतले बढेर ३६१.८० रुपैयाँ पुगेको थियो । यसले बजारमा वास्तविक मागभन्दा सीमित कारोबारकै कारण मूल्य उचालिएको संकेत देखिएको छ।सर्वसाधारणका लागि खुला रूपमा दोस्रो बजारमा आएको देखिए पनि सेटिङमा आफूअनुकुल बेचेर आफूअनुकुल नै किनेर मूल्य बढाएको देखिएको छ ।
मंगलबार र बुधवार भएको कारोवारमा सिमित ब्रोकरहरूबीचमात्र कारोवार भएको देखिएको छ । बुधवार ब्रोकर नम्बर ८४, ४७, १४ र १० ले मात्र कारोवार गरेका छन् । मंगलबार पनि सिमित ब्रोकरले मात्र कारोबार गरेका थिए।
बुधवार जम्मा ६० कित्ता सेयरमात्र ६ पटकको कारोबारमा किनबेच भएको छ। यति न्यून परिमाणको कारोबारबाट ३१.८० रुपैयाँको मूल्य वृद्धि हुनु स्वाभाविक बजार संकेतभन्दा पनि तरलताको अभावमा भएको मूल्य उतारचढाव हुन सक्ने देखिन्छ। ओपन प्राइस ३२८ रुपैयाँबाट सुरु भएको सेयर दिनको अन्त्यमा ३६१.८० रुपैयाँमा बन्द भयो । उच्च मूल्य पनि ३६१.८० रुपैयाँ नै कायम हुँदा कारोबार दायरा सीमित रहेकोदेखिन्छ । यस्तो अवस्थाले साना कारोबारले नै मूल्यलाई अस्वाभाविक रूपमा माथि धकेल्न सक्छ । कम्पनीको कुल सूचीकृत सेयर संख्या १ करोड ९० लाख कित्ता छ र चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ छ। हालको मूल्यअनुसार बजार पूँजीकरण करिब ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको देखिए पनि वास्तविक कारोबारको आधार कमजोर देखिन्छ ।
दैनिक किनबेच अत्यन्तै न्यून हुनु लगानीकर्ताका लागि जोखिम संकेत हुन सक्छ। सीमित सेयर घुमिरहेको अवस्थामा केही ठूला लगानीकर्ताल मूल्यमा प्रभाव पार्ने सम्भावना रहन्छ ।
सूचीकृत कम्पनीहरूको प्रारम्भिक कारोबारमा देखिने उत्साह प्रायः मनोवैज्ञानिक प्रभावका कारण हुन्छ। तर वास्तविक वित्तीय अवस्था, नाफा क्षमता, उद्योगको प्रतिस्पर्धात्मक अवस्था र दीर्घकालीन रणनीति स्पष्ट नभएसम्म मूल्य वृद्धिलाई स्थायित्वको संकेत मान्न सकिँदैन ।
वर्तमान अवस्थामा रिलायन्स स्पिनिङ मिल्सको मूल्य वृदि आधारभूत सूचकभन्दा बढी सीमित कारोबारको परिणाम हो भने आधार स्थापित भएको छ । सेयर बजारमा मूल्यभन्दा भोल्युम महत्वपूर्ण सूचक मानिन्छ । न्यून भोल्युममा भएको उच्च वृद्धि प्रायः दिगो हुँदैन । त्यसैले लगानीकर्ताले सतही मूल्य उछाललाई मात्रै आधार नबनाई कम्पनीको वित्तीय प्रतिवेदन, उद्योगको अवस्था र दीर्घकालीन सम्भावनाको अध्ययनपछि मात्र निर्णय लिनु उपयुक्त हुनेछ ।
यही कारण ’सेटिङ’ मार्फत आईपीओ निष्कासन गरिएको गरेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडमा ’लगानी गरेका सर्वसाधारण लगानीकर्ता घाटामा परेका छन् । बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको उच्च मूल्यमा आईपीओ भरेका लगानीकर्ताले सेयर अहिले प्रतिकित्ता ३०० मा नै सेयर बिक्री तिर लागेका हुन् ।












