नेप्सेमा सूचीकृत अधिकांश होटल नोक्सानीमा, आम्दानीमा कस्को अवस्था कस्तो ?

७ फाल्गुन २०८२, बिहीबार ०९:३१

काठमाडौं । नेप्सेमा सूचीकृत सात होटलमध्ये अधिकांश नोक्सानीमा रहेको छ। कालिञ्चोक दर्शन र सोल्टी होटलबाहेक सबै सात कम्पनीले नोक्सानी व्यवहोरेका छन् ।

बन्दीपुर केबलकार, ओरियन्टल होटल,चन्द्रागिरि हिल्स,सिटि होटल र तारागाउँ रिजेन्सीले चालु आवको दोस्रो त्रैमासमा नोक्सानी भोग्नु परेको हो।

सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाउँदा लिइएको वार्षिक १० लाख पर्यटक पुर्याउने लक्ष्य बल्ल पुरा भएको छ । त्यस दौरान उपत्यकामा मात्रै होइन, उपत्यका बाहिर समेत पाँच तारे स्तरका अन्तर्राष्ट्रिय चेन होटलहरु निर्माण भइरहेका छन् तर नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिएको छैन जसले गर्दा होटलको संख्या बढे पनि तिनीहरुले पर्याप्त व्यवसाय गर्न सकिरहेको छैन। यसले होटलको व्यवसायमा असर गरिरहेको छ । विदेशी विनिमय दरको उतार–चढाव र ऊर्जा तथा इन्धन मूल्य वृद्धिले पनि होटल तथा पर्यटन व्यवसायलाई चुनौती दिइरहेको उल्लेख गरिएको छ।

खुद नाफामा सोल्टी अगाडि

होटल तथा पर्यटन समूहमा सुचीकृत ७ कम्पनीमध्ये सोल्टी होटलले सबैभन्दा बढी ३४ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा गरेका छ जुन गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा साढे २८ प्रतिशतले बढी हो। त्यस्तै दोस्रो धेरै नाफा कमाउनेमा कालिञ्चोक दर्शन रहेको छ । कम्पनीले चालु आवको पुस मसान्तसम्म १ करोड १९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । गत आवमा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।

हालै आइपीओ निष्काशन गरेको बन्दीपुर केबुलकारको घाटा घटेर ७४ लाख ९१ हजार रुपैयाँ पुगेको छ भने सिटी होटलको घाटा १० करोड ९ लाखमा सिमित छ। जेनजी आन्दोलनपछि पुननिर्माणको क्रममा रहेको तारागाउँ रिजेन्सी होटल्सको दोस्रो त्रैमाससम्मको घाटा ९ करोड ७ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म कम्पनी १८ करोड ६७ लाख रुपैयाँ नाफामा थियो । त्यस्तै जेनजी आन्दोलनको क्रममा क्षति व्यहोरेको चन्द्रागिरी हिल्सको नोक्सानी ४ करोड ७० लाख रुपैयाँ छ भने ओरियन्टल होटल्सको नोक्सानी २ करोड ७४ लाख रुपैयाँ छ । गत वर्षको दोस्रो त्रैमासमा बन्दीपुर केबुलकार र सिटी होटलबाहेक सबै होटलहरु नाफामा सञ्चालन भएका थिए ।

आम्दानीमा को अगाडि ?

चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै आम्दानी सोल्टी होटल्सले गरेको छ । कम्पनीले ६ महिनामा झन्डै डेढ अर्ब रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशतले बढी हो । कालिन्चोक दर्शन, बन्दीपुर केबुलकारले पनि गत वर्षको तुलनामा आम्दानी वृद्धि गरेको छ । बन्दीपुर केबुलकारले गत वर्षको सोही अवधिको तुलनामा ३९.४७ प्रतिशतले आम्दानी वृद्धि गरेर ९४ लाख ५७ हजार पुर्याएको छ भने कालिन्चोक दर्शनले १४.९१ प्रतिशतले आम्दानी बढाएर ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ ।

जेनजी आन्दोलनमा बिग्रेको संरचना निर्माणमा लागेको तारागाउँ रिजेन्सी होटलको आम्दानी ७५.२६ प्रतिशतले घटेर १७ करोड १९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ भने सीटी होटल्सको आम्दानी१० करोड ७५ लाख रुपैयाँमा सीमित छ । यता चन्द्रागिरीको समेत आम्दानी ४१ प्रतिशतले गिरावट आएर २४ करोड ८९ लाख रुपैयाँ र ओरियन्टल होटल्सको आम्दानीमा भने १.४५ प्रतिशतको मात्रै गिरावट भएर ४८ करोड ४६ लाख रुपैयाँमा सीमित छ ।

इपीएस र नेटवर्थमा को अगाडि ?

प्रति शेयर आम्दानी (इपीएस)समेत चालु आवको दोस्रो त्रैसमामा सोल्टी होटल र कालिन्चोक दर्शनको मात्रै सकारात्मक रहेको छ । सोल्टीको प्रति शेयर आम्दानी ५।९२ रुपैयाँ र कालिन्चोक दर्शन लिमिटेडको प्रति शेयर आम्दानी ४ रुपैयाँ रहेको छ ।

तारागाउँ रिजेन्सी होटलको प्रति शेयर आम्दानी सबैभन्दा धेरै ९।२६ रुपैयाँले ऋणात्मक रहेको छ भने सिटी होटलको ६।७० रुपैयाँ, चन्द्रागिरी हिल्सको ५।८४ रुपैयाँ, ओरियन्टल होटलको ४।६३ रुपैयाँ र बन्दीपुर केबुलकारको ५३ पैसा प्रति शेयर ऋणात्मक रहेको छ ।

यता नेटवर्थमा भने ओरियन्टलको नेटवर्थ प्रति शेयर सबैभन्दा बढी ३२८।२२ रुपैयाँ रहेको छ । त्यस्तै १० रुपैयाँ अंकित मूल्य रहेको सोल्टी होटलको नेटवर्थ २६।३१ रुपैयाँ छ भने तारागाउँ रिजेन्सी होटलको १५०।०५ रुपैयाँ, कालिन्चोक दर्शनको १०७।३२ रुपैयाँ, चन्द्रागिरी हिल्सको १०२।८७ रुपैयाँ रहेको छ । नेटवर्थको आधारमा बन्दीपुर केबुलकार र सिटी होटल कमजोर देखिएको छ । बन्दीपुरको नेटवर्थ ९२।४७ रुपैयाँ र सिटी होटल्सको ९८।५३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*