चितवनमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

७ फाल्गुन २०८२, बिहीबार १०:११

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग, हरिहरभवन–ललितपुरको आयोजनामा चितवनको भण्डारास्थित कृषि तालिम केन्द्रमा तीन दिने कृषि, पशुपन्छी तथा जडीबुटी सम्बन्धी बीमा अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

सह–आयोजक नेपाल बीमा प्राधिकरण रहेको उक्त अभिकर्ता तालिम “कृषि मूलश्च जीवनम्” भन्ने मूल्य ध्येयका साथ फागुन ४ गते सोमबारदेखि फागुन ६ गते बुधबारसम्म सञ्चालन भएको हो। कृषि तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित बीमा प्रणालीलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यका साथ प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पाँचवटा सत्रमा उक्त तालिम सञ्चालन गरिएको हो।

उक्त कार्यक्रमको समापन समारोहको प्रमुख अतिथिमा कृषि पशुपन्छी प्रदेश सचिव बैकुण्ठ अधिकारीको सहभागिता थियो भने अध्यक्षतामा कृषि विभाग हरिहरभवनका ललन कुमार सिंहको सहभागिता थियो। त्यस्तै नेपाल बीमा प्राधिकरणका तर्फबाट उपनिर्देशक राजेन्द्र महर्जन र सहायक निर्देशक दिपक ज्ञवाली कार्यक्रमको प्रशिक्षकको रूपमा सहभागी भएका थिए।

तीन दिनसम्म सञ्चालन भएको तालिममा कृषि तथा पशुपन्छी बीमासँग सम्बन्धित कानूनी व्यवस्था, बीमालेखका प्रकार, जोखिम व्यवस्थापन, बीमा प्रक्रिया तथा सफ्टवेयर प्रयोग सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। तालिमको पहिलो दिन प्रारम्भिक परीक्षण ९प्रि–टेस्ट० मार्फत सहभागीहरूको मूल्याङ्कन गरिनुका साथै कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, अनुदान कार्यक्रम, जोखिम व्यवस्थापन, बीमाको सैद्धान्तिक पक्ष, बाली तथा पशुपन्छी बीमा अभिकर्ताको व्यवस्था र पशुधन बीमालेख सम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन गरिएको थियो।

दोस्रो दिन बीमा सम्बन्धी कानुनी व्यवस्था, पशु बीमालेख, मौरी बीमालेख, उत्पादनमा आधारित तरकारी बाली बीमालेख, ब्याड खेती तथा बीउ बाली उत्पादन बीमालेखका विषयमा प्रस्तुति दिइएको थियो। यी विषयहरू मार्फत कृषि उत्पादनसँग जोडिएका सम्भावित जोखिम न्यूनीकरणका उपायबारे सहभागीहरूलाई जानकारी गराइएको थियो

तेस्रो दिन माछा बीमालेख, चैते धान बाली ९सामूहिक० तथा केरा बीमालेख, अदुवा बाली खेती बीमालेख लगायत विभिन्न कृषि तथा पशुपन्छी बीमाका प्रकारबारे जानकारी दिइयो थियो। साथै बाली तथा पशुपन्छी बीमा गर्ने प्रक्रिया र एएलआईएस सफ्टवेयर प्रयोग सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। तालिमको अन्त्यमा अन्तिम परीक्षण ९पोस्ट टेस्ट० मार्फत सहभागीहरूको सिकाईको मूल्याङ्कन समेत गरिएको थियो।

तालिममा बीमा क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए। सहभागीहरूले तालिमले कृषि तथा पशुपन्छी बीमा प्रणालीको महत्व, कानूनी प्रक्रिया र व्यवहारिक प्रयोगबारे आ–आफ्नो तर्फबाट धारणा प्रस्तुत गरेका थिए।

कृषि क्षेत्रमा प्राकृतिक विपत्ति, रोगव्याधि तथा अन्य अनिश्चित जोखिमबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न बीमा प्रणाली प्रभावकारी माध्यमका रूपमा विकसित हुँदै गएको छ। यस्ता अभिमुखीकरण कार्यक्रमहरूले किसान, प्राविधिक तथा सरोकारवालालाई बीमाप्रति सचेत बनाउँदै कृषि उत्पादनलाई सुरक्षित र दिगो बनाउने अपेक्षाका साथ कार्यक्रम सञ्चालन गरिएको प्राधिकरणले बताएको छ। कार्यक्रमको अन्तिममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।

कार्यक्रमको समापनमा बोल्दै बीमा प्राधिकरणका उप निर्देशक एवं प्रशिक्षक राजेन्द्र महर्जनले भने “सिकाई त्यो ज्योति हो जसले जीवनलाई मात्र होइन समाजलाई पनि उज्यालो बनाउँछ।” “यस अभिकर्ता तालिमले हामीलाई केवल प्राविधिक ज्ञान मात्र नभएर जिम्मेवारी, समर्पण र सेवाको भावना पनि सिकाएको छ। यहाँ सिकेका सीप र अनुभवलाई हामी आ–आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै किसानको जीवनस्तर सुधार्न प्रतिवद्ध रहनेछौं।” उनले अन्त्यमा जो जहाँ रहे पनि ज्ञान र सेवाको बाटो कहिल्यै छोड्न नहुने बताउँदै समृद्ध कृषि नै समृद्धि राष्ट्रको आधार भएको कुरामा जोड दिए।

कार्यक्रममा सहभागीहरूले यस तालिमले बीमा मूल्यांकन सम्बनधी दुविधाहरू स्पष्ट पारेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा कृषि क्षेत्रको जोमिख न्यूनीकरण गर्न र स्थानीय तहमा बीमाको दायरा विस्तार गरी कृषकहरूलाई लाभान्वित तुल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*