बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन उपकरण ‘निक्षेप संकलन’ मार्फत ८७ दिनका लागि उक्त रकम तान्न लागेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र प्रतिस्पर्धात्मक दर उल्लेख गर्दै आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यस उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते हुने जनाइएको छ। निक्षेप संकलनमार्फत बजारबाट तरलता तान्दा अल्पकालीन ब्याजदर स्थिर राख्न र वित्तीय प्रणालीमा सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र उक्त निक्षेप संकलन प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्। हाल बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको परिप्रेक्ष्यमा केन्द्रीय बैंकले नियमित रूपमा यस्ता उपकरण प्रयोग गर्दै आएको छ।
49.-DC_Notice-2082.11.10-1











