एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा भोलि, शेयरधनीलाई लाभांश

१० फाल्गुन २०८२, आईतवार १२:५५

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा भोलि फागुन ११ गते छुट्टाछुट्टै स्थान र समयमा बस्दैछ।

एशियन लाइफको साधारणसभा बारास्थित होटल क्लासिक सिमरामा दिउँसो १ बजेबाट शुरू हुनेछ। सभाले सञ्चालक समितिबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको (एनएफआरएस बमोजिम) असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धी संलग्न अनुसूचिहरू माथि छलफल तथा पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी बोनस शेयर वितरण पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति दिने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको प्रबन्धपत्रमा समयानुकूल उद्देश्य थप तथा संशोधन गर्ने र आवश्यकता अनुसार कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २९ गते एक दिनका लागि शेयर दाखिल खारेज बन्द (बूक क्लोज) गरिसकेको छ। बूक क्लोजको आधारमा माघ २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

नेको इन्स्योरेन्सको साधारणसभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत (१०० कित्ता बराबर ३ कित्ता) बोनस शेयर र १२.७८९४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र गत आवको लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी बोनस शेयर वितरण पश्चातको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति दिने र आवश्यता अनुसार तथा नियामक निकायहरूबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले माघ २५ गते एक दिनका लागि बूक क्लोज गरिसकेको छ। बूक क्लोजको आधारमा माघ २४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*