भारतबाट फर्कने मतदातालाई सीमा नाकामा सहजीकरण गर्न गृह मन्त्रालयको निर्देशन

१० फाल्गुन २०८२, आईतवार १३:०८

काठमाडौँ । गृह मन्त्रालयले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट स्वदेश फर्कने नेपाली नागरिकलाई सीमा क्षेत्रमा सहज आवागमन सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार जारी परिपत्रमार्फत छिमेकी देशका समकक्षीसँग समन्वय बढाई सीमा नाकामा मतदाता सहजीकरण गर्ने व्यवस्था मिलाउन भनेको हो ।

मन्त्रालयका अनुसार भारतमा रोजगारी गर्दै आएका नेपाली मतदानका लागि स्थलमार्ग हुँदै ठूलो संख्यामा स्वदेश फर्कने अनुमान गरिएको छ । यस क्रममा सीमा क्षेत्रमा चोरी, ठगी, लुटपाट जस्ता घटनाहरू हुन सक्ने र अनावश्यक जाँचको बहानामा मतदाताले असुविधा भोग्नुपर्ने सम्भावना रहेकाले सुरक्षा र सम्मानमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

गृह मन्त्रालयकी सहायक प्रवक्ता रमा आचार्यले सीमावर्ती जिल्लाका स्थानीय प्रशासनले आवश्यकताअनुसार छिमेकी देशका समकक्षीसँग बैठक र छलफल गरी आवागमन सहज बनाउने गरी समन्वय गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘निर्वाचनमा सहभागी हुन स्वदेश फर्कने नेपाली नागरिकलाई नाकामा कुनै दुःख नहोस् भन्ने हाम्रो उद्देश्य हो ।’

सीमाको सुरक्षा खटिएको सशस्त्र प्रहरी बललाई पनि स्वदेश फर्कने मतदातालाई सहजीकरण गर्न निर्देशन दिइएको छ । निर्वाचनको ४८ घण्टाअघि नाका बन्द हुने प्रावधानलाई ध्यानमा राख्दै भारतीय समकक्षीसँग समन्वय गरी परिचयपत्रको आधारमा नेपाली नागरिकलाई स्वदेश प्रवेश गराउने व्यवस्था मिलाउन भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*