पुँजी बजार राताम्य हुँदा सुस्ताउँदै कारोबारः विकास बैंक र हाइड्रोमा भारी गिरावट, चुनावको प्रभाव हो ?

काठमाडौँ । पुँजी बजार राताम्य भएको छ । पछिल्ला केही साता यता पुँजी बजार निरन्तर ओरालो यात्रामा रहेको हो । बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ भने नाफा बुकिङ बढ्दै गएको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले बजारमा सतर्कता थपाएको छ ।
निर्वाचनको मुखमा लगानीकर्ताहरू आगामी नीतिगत स्पष्टताका लागि प्रतीक्षारत छन् । चुनावपछि बन्ने सरकारको नीति र पुँजी बजारसँगको सम्बन्ध अझै अस्पष्ट भएको कारण लगानीकर्तामा सतर्कता कायम छ । कुनै दलले स्पष्ट बहुमत पाउने सम्भावना कम देखिएकोले लगानीकर्ताहरू पर्ख र हेर रणनीतिमा रहेका छन्।
त्यसैबीच, थोरै नाफा भएपनि लगानीकर्ताहरूले बुकिङ तिर बढी ध्यान दिइरहेका छन्। यसले बजारमा अस्थिरता थपेको छ र शेयर मूल्यहरूमा दबाव सिर्जना गरेको छ। विशेषज्ञहरूले बजारमा अहिलेको ओरालो केवल राजनीतिक अन्यौल र चुनावसँग सम्बन्धित अस्थायी प्रभावका कारण भएको विश्लेषण गरेका छन्।
यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाउने संकेत दिएका छन् र पुँजी बजारप्रति उदार नीति लागू गर्ने प्रयास गरिरहेका छन्। नियामक निकायले समेत सकारात्मक कदम चालिरहेको छ। भविष्यमा यी पहलले बजारमा क्रमशः स्थायित्व र सुधार ल्याउने सम्भावना रहेको छ तर अहिलेसम्म अपेक्षित प्रभाव देखिएको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५९ अकंले घटेर २६१४.५५ बिन्दुमा कायम भएको छ । आज ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ उपसूचक नै राताम्य भएका छन् । आज विकास बैंकको १.४१ प्रतिशत, हाइड्रोपावर समूहको १.८१ प्रतिशत, व्यापार समूहको ३.५९ प्रतिशत, वाणिज्य बैंक समूहको ०.५२ प्रतिशतले शेयर मूल्य घटेको हो ।
आइतबार ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२० कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज सालपा विकास बैंकको शेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ ।












